काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीका मन्त्री हेरफेर तत्काल गर्न दवाव दिएपछि आज प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् ।
बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठकमा सरकारमा सहभागी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने बताइएको छ ।
एकीकृत समाजवादीले यसअघि नै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँको नाम प्रधानमन्त्री देउवासमक्ष सिफारिस गरिसकेको छ । तर, बजेट पास नभएसम्मका लागि धैर्य गरिदिन प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेकाले मन्त्री हेरफेर लम्बिएको हो ।
समाजवादीले आफ्ना मन्त्री हेरफेर गर्ने तयारी गरेपछि सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा पनि मन्त्री फेर्न दबाब परेको बताइएको छ ।























