काठमाडौं । सरकारले आपूर्ति व्यवस्था सहज बनाइराख्न लागतअनुरुप नै पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै जानुपर्ने बाध्यात्मक अवस्था उत्पन्न भएको जनाएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सार्वजनिक महत्वका विषयमा जानकारी गराउदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले आइओसीलाई पेट्रोलियम पदार्थ खरिदबापत तिर्नुपर्ने बक्यौता रकम बढ्दै जाने देखिएको हुँदा आपूर्ति व्यवस्था सहज बनाइराख्न लागतअनुरुप नै मूल्य समायोजन गर्दै जानुपर्ने बाध्यात्मकस्थित निगमसामु देखिएको बताएका हुन ।
उनले मूल्य समायोजन नगर्दा निगमलाई जेठ मसान्तसम्म करिब रु ५० अर्ब घाटा भएको तथा इन्डियन आयल कर्पोरेशन (आइओसी) लाई २२ अर्ब बक्यौता रहेको सदनलाई जानकारी दिएका छन् । उनले खाना पकाउन प्रयोग गर्ने एलपी ग्यासको खपत न्यूनीकरण गर्ने र विद्युतको खपत बढाउन विद्युत् महसुलमा सहुलियत दिई राहत प्रदान गर्ने नीति दिएको बताएका छन् ।
उनले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि सरकारले अगाडि बढाएका नीति तथा कार्यक्रमको कार्यान्वयनमा तथा पेट्रोलियम पदार्थको विवेकपूर्ण उपयोग गर्न उपभोक्तामा आग्रह समेत गरेका छन् ।























