काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले परराष्ट्र नीतिमा सत्ता पक्ष र विपक्षी हुन नहुने बताएका छन् । मंगलबार आयोजित पूर्वराजदूतहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्षबीच धेरै विषयमा विमति रहने भए पनि राष्ट्रिय हित, विदेश नीतिमा विमति हुनु नहुने बताए ।
एमसीसीलाई देशभित्र गिजोलिएको र झण्डै भूराजनीतिक द्वन्द्वको अवस्थामा पुगेको स्मरण गर्दै नेता ज्ञवालीले दलहरुले सत्तामा रहँदा आफैले हस्ताक्षर गर्ने र सत्ता बाहिर रहेपछि राजनीतिक तथा दलीय स्वार्थका कारण गिजोलेको आरोप लगाएका छन् ।
नेपालले अहिले भूराजनीतिक बदलावका बाछिटा भोगिरहेको बताउँदै ज्ञवालीले देशको अस्मिता जोगाउन हाम्रा पुर्खाले देखाएका कुशलताबाट पनि धेरै कुरा सिक्नु पर्ने बताएका छन् ।
परराष्ट्र नीतिका सम्बन्धमा घोषित नीति हुँदाहुँदै एसपीपीमा कसरी हस्ताक्षर भयो भन्नेबारे खोजीको विषय रहेको ज्ञवालीले बताएका छन् ।
संसारका सबै मुलुकबाट सहयोग लिन सकिने तर सहायताका शर्त राष्ट्रिय हित विपरीत भए स्वीकार गर्न नसकिने ज्ञवालीले बताएका छन् ।
























