काठमाडौं । नेपाली कूटनीतिमा लापरवाही बढेको भन्दै प्रतिपक्षी दल नेकपा एमालेका सांसद, विश्लेषक, कूटनीतिज्ञ र परराष्ट्रविदहरुले चिन्ता व्यक्त गरेका छन् । परराष्ट्र नीति बारेको छलफलका लागि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री नारायण खड्कालाई बोलाएको थियो । तर उनी अनुपस्थित हुनुलाई कूटनीतिप्रति सरकारको लापरवाही र संसदप्रति उत्तरदायी नभएको देखिन्छ ।
समितिले आज बिहान छलफलका लागि मन्त्री खड्कालाई बोलाए पनि समय नदिएको भन्दै उनको आलोचना भएको छ । समितिकी सभापति पवित्रा खरेलले अमेरिकी जर्नेलको नेपाल भ्रमणबारे सरकारले जानकारी दिनु पर्नेमा परराष्ट्रकै अधिकारीहरु त्यसबारे बेखबर रहेको पाइएको बताएकी छिन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको आशन्न अमेरिका भ्रमणका बारेमा सांसद, वुद्धिजिवि र कूटनीतिज्ञहरुले अनेकौ आशंकाहरु गरेका छन् । सांसदहरुले सो भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरिरहको छन् । आज बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री देउवाको भ्रमणबारे उठेको प्रश्नहरुबारे छलफल गर्न देउवालाई असार ५ गते र परराष्ट्रमन्त्री नारायण खडकालाई असार ३ गते समितिमा बोलाउन लागिएको सभापति खरेलले बताएकी छिन् ।
वैठकमा सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विदेशीको हस्तक्षेप स्वीकार्य नहुने भन्दै नेपालको असंलग्न परराष्ट्र नीतिबारे ध्यान दिनुपर्ने बताएका छ्न । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसद र सिंगो देश जानकार हुनुपर्ने बताउँदै के–के तयारी भैरहेको छ, सबै जानकारी हुनुपर्ने तर्क गरेका छन् ।
यस्तै प्रतिपक्षी एमालेका सांसद भीम रावलले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणअघि प्रधानमन्त्री पत्नी आरजु राणा सल्लाह लिन भारत गएको आरोप लगाएका छन् । देउवाको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले नगरेर रक्षा मन्त्रालय र सेनाले गर्नु गम्भिर रहेको बताउँदै रावलले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा स्टेट पार्टनरसीप कार्यक्रममा हस्ताक्षर गर्ने गोप्य तयारी भइरहेको बताउँदै त्यसको परामर्शकै लागि प्रधानमन्त्री पत्नी आरजु अहिले भारत गएको रावलको आरोप छ ।
रावलले अमेरिका सेनाको युटा नेशनल गार्डलाई नेपाल ल्याउने योजनाअनुसार स्टेट पार्टनरसीप सम्झौताको तयारी भएको बताएका छन् ।
त्यस्तै प्रतिपक्षी एमालेका सांसद मोहन बानियाँले नेपालमा अहिले पाँच हजार अमेरिकी सेना गोप्य रुपमा बसिरहेको दाबी गरेका छन् । समितिमा नेपालको परराष्ट्र नीतिमा बोल्दै बानियाँले अमेरिकाले चलखेल बढाएको बताउँदै एमसीसी नेपालका लागि घाँडो भएको टिप्पणी गरेका छन् । ५५ अर्बको लोभमा नेपाल अमेरिकी सैन्य रणनीति इन्डो प्यासिफिक स्ट्राटेजीमा गाभिने सम्भावना बढेको भन्दै चिन्ता व्यक्त गरेका छन ।
यस्तै सो वैठकमा बोल्दै एमालेका उपमहासचिव एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग वर्तमान सरकारको नीति ठीक नभएको टिप्पणी गरेका छन् । तिब्बत मामिला हेर्ने अमेरिकी मन्त्रीलाई किन बोलाएको भन्दै उनले प्रश्न गरेका छन् । छिमेकलाई र उसको चासोलाई बेवास्ता गर्दा नेपाललाई अप्ठेरो पर्ने भन्दै उनले समग्रमा वर्तमान सरकारको छिमेक सम्बन्ध नीति ठीक नभएको बताएका छन् ।
त्यस्तै नेकपा एमालेका सांसद नारदमुनि रानाले नेपालको शासन सत्ता सेनाको हातमा बुझाउने प्रयास भैरहेको आशंका व्यक्त गरेका छन् । सांसद रानाले विगतमा राजाको हातमा सत्ता बुझाएको देउवा सरकारले अब कतै सेनाको हातमा शासन सत्ता बुझाउने प्रयास त गरिरहेको छैन भन्ने आशंका व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा भारत जानु र अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डका प्रमुख जेनरल चाल्र्स ए फ्लिन नेपाल आउनु संयोग मात्र हो कि होइन भन्ने पनि उनको प्रश्न छ ।
अमेरिकी सहयोग परियोजना एमसीसीको सन्दर्भमा उनले कुनै पनि सहयोग कसैको लाभका लागि नभई समग्र राष्ट्रको हितमा हुनुपर्ने बताएका छन् । अहिले नेपालको परराष्ट्र नीति र गतिविधि हेर्दा सरकार स्वयंले संविधानको पालना नगरेको पाइएको भन्दै उनले जनप्रतिनिधिको रुपमा आफूलाई लज्जाबोध भैरहेको बताएका छन् ।