काठमाडौं । अर्थ मन्त्रालयले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नका लागि कम बजेट छुट्याएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आक्रोसित भएका छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्तावित आन्तरिक टर्मिनल भवन शिलान्यास गर्दै मन्त्री आले आक्रोशित भएका हुन् ।
मन्त्री आलेले निजगढ विमानस्थलमा रोक लगाउने फैसला गरेर न्यायपालिकाले कार्यपालिकामा हस्तक्षेप गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । त्यसमा मन्त्रीहरुले समेत व्यवहारिक काम गर्न नसकेको गुनासो उनले गरे ।
‘बजेट दिने बेलामा २६ करोड रुपैयाँ दिने, एक खर्ब २० अर्बको लागत अनुमान छ । २६ करोड रुपैयाँमा बन्छ ? तर हामीले २६ करोड बजेट पाएका छौं ।’ मन्त्री आलेले भने ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रियामा अहिलेसम्म ३ अर्ब र सो विमानस्थललाई जोड्ने काठमाडौं–मधेश फास्ट ट्रयाकका लागि २ खर्ब खर्च भइसकेको भन्दै मन्त्री आलेले मधेशलाई राजधानीसँग जोड्न नचाहने गरी सर्वोच्चको फैसला आएकोमा असन्तुष्टि पोखे । उनले मधेशी जनता जहिल्यै रैती हुनुपर्ने अवस्था कहिलेसम्म रहने हो भन्दै प्रतिप्रश्न गरे ।

























