काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण बिषयमा सदनमा जानकारी गराउन माग गरेको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको सुरुमै एमाले सांसद सूर्यप्रसाद पाठकले अमेरिका भ्रमणमा प्रधानमन्त्री र प्रधानसेनापति जान लागेको र नेपाल कतै आइपीएस सहभागी हुने हो की भन्ने आशंका पैदा भएकाले प्रधानमन्त्रीले संसदको रोष्ट्रममा उभिएर यसको जवाफ दिनुपर्ने माग गरेका हुन ।
जेठ २६ गते सत्ता घटक दलका प्रमुख सचेतकले राष्ट्रिय सुरक्षा संवेदनशिलताका सम्बन्धमा राखेको अभिव्यक्तिले प्रतिपक्षीलाई अत्यन्त चिन्तित तुल्याएको भन्दै उनले हिन्द प्रशान्त रणनीतिमा सहभागी हुने हो कि भन्ने आशंका पैदा भएको धारणा राखेका छन् ।
प्रमुख सचेतकको आशंका अनुसार अमेरिकाको भ्रमणका सैन्य गठबन्धनमा प्रवेश गर्ने हो की भन्ने देखिएकाले राष्ट्रिय स्वाधिनता, सार्वभौकिमता र भौगोलिक अखण्डताको विषयमा देश चिन्तित रहेको उनले बताए । उनले यस बिषयमा प्रधानमन्त्रीलाई सदनमा जवाफ दिन सभामुखले रुलिङ गर्नुपर्ने माग पनि गरेका छन् ।
जेठ २६ गतेको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमण स्थगित गर्न माग गरेका थिए । अहिले अत्यन्तै संवेदनशील अवस्था रहेको बताउँदै गुरुङले अहिलेको परराष्ट्र नीति सैन्य नीतिमा गइरहेको टिप्पणी समेत गरेका थिए ।

























