काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भेटवार्ता गरेर आफ्ना पार्टीका नेता, कार्यकर्तालाई रिहाइ गर्न माग गरेका छन् ।
गृह मन्त्रालयमा बुधवार बिहान भएको भेटमा गृह सचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल सहभागी थिए ।
यसअघिका वार्तामा भएका सहमतिको लेखाजोखा र समीक्षा भएको गृहमन्त्रालयले जनाएको छ । सरकारका तर्फबाट गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचन पूर्व केही कैदी बन्दीलाई रिहा गर्न भएको सहमतिअनुरूप प्रक्रिया अगाडि बढेको जानकारी दिएको बताइएको छ ।
‘स्थानीय तहको निर्वाचन पूर्व केही कैदी बन्दीलाई रिहा गर्न भएको सहमतिअनुरूप प्रक्रिया अगाडि बढेको बताउँदै गृहमन्त्रालयले त्यसका लागि महान्यायाधीवक्ताको कार्यालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय र सम्बन्धित पक्षबीच समन्वय भइरहेको जनाएको छ ।
अर्को बैठक सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिहरूको समेत सहभागितामा छिटै बस्ने सहमति भएको बताइएको छ ।
























