काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेटमार्फत् अर्बौं घोटाला गरेको हुन सक्ने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद रावलले इम्बोस्ड नम्बर प्लेटमा तीनदेखि चार अर्ब घोटाला भएको हुनसक्ने आशंका व्यक्त गरेका हुन् । संविधान अनुरुप सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने भए पनि सो मर्म बमोजिम नभई इम्बोस्ड नम्बर अंग्रेजी भाषामा गरिएकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे ।
नेता रावलले इम्बोस्ड नम्बर प्लेट बनाउन दिइने कम्पनी नै विश्व बैंकको कालोसूचीमा रहेको बताए । उनले भने, ‘अहिले हाम्रो देशमा जुन यो गाडीमा नम्बर प्लेट राख्ने कुरा छ । के नेपाल सरकारले जति बेला ठेक्का लगाइयो त्यो ठेक्का लगाउँदा त्यो ठेकेदार नै कालोसूचीमा, विश्वबैंकले कालोसूचीमा राखेको कम्पनी छ । त्यो बेला र अहिलेको त्यो रकम हेरौँ झन्डै त्यसमा तीन, चार अर्ब रुपैयाँको त त्यसमा घोटाला हुने जस्तो देखिन्छ ।’
रावलले अगाडि भने, ‘अहिले करिब ४ हजार गाडीहरुलाई त्यो प्लेट दिइएकोमा १५ सयको त एक वर्षमै त्यो प्लेट काम नलाग्ने भयो भनेर समाचार सञ्चामाध्यममा पढ्नमा आएको छ । तथ्य अगाडि त्यसरी देखिन्छ । हाम्रो देशभरि जुन नम्बर प्लेट राखिन्थ्यो त्यसमा हाम्रो संविधानको धारा ७ बमोजिम देवनागरी लिपिमा नेपाली भाषा सरकारी कामकाजको भाषा हुने भन्या त्यो त सरकारले निर्णय गर्दा नेपाली भाषाको प्रयोग गर्नुपर्ने होइन र ? यो लोकतन्त्रमा आफू अनियमित काम गर्ने, देशको अर्थतन्त्रलाई अप्ठ्यारोमा पार्ने, त्यो गाडीमा नम्बर प्लेट लेख्दा नेपालीले कति रोजगारी पाउँथे हिसाबकिताब गर्या छ, नेपाल सरकारले ? देशव्यापी रुपमा त्यसबाट जनता कति लाभान्वित हुन्थे ?’

























