काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले थुनामा रहेका सांसद रेशम चौधरीलाई रिहा गर्नुपर्ने लगायतका ११ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई शेरबहादु देउवालाई ज्ञापन पत्र बुझाएको छ ।
लोसपाका अध्यक्ष महन्त ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायत नेताले आज बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका हुन ।
११ बुँदे ज्ञापनपत्रमा संवैधानिक व्यवस्था अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रदान गर्नुपर्ने, वैवाहिक अंगीकृत सम्बन्धी हालको व्यवस्था कायमै राख्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, जेल सजाय भोगिरहेका रेशम चौधरी र बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताहरूलाई रिहाइ गर्नुपर्नेलगायतका माग गरिएको छ ।
गत शनिबार पनि अध्यक्ष ठाकुरले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए । लोसपा सरकारीमा सहभागी हुने चर्चा चलिरहेको र प्रधानमन्त्रीलाई भेटेको केही दिनमै आज बुझाएकोे ज्ञापनपत्रलाई पनि अर्थपूर्णरुपमा हेरिएको छ । लोसपाले आफ्ना मागहरु पूरा गर्ने भरपर्दो सम्झौता गरे सरकारमा सहभागी हुन सकिने बताएको छ ।


























