काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेर गर्ने तयारी गरेको छ ।
आइतबार पार्टी कार्यालय तीनकुनेमा बसेको समाजवादीको सचिवालय बैठकमा सरकारमा पार्टीबाट मन्त्रीहरुको हेरफेरका बारेमा छलफल भएको र यसको अधिकार पार्टी अध्यक्ष माधवकुमार नेपाललाई रहेको उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिएका छन् ।
६ महिनाका लागि सरकारमा पठाएकाले मन्त्री हेरफेर गर्ने बिषयमा छलफल भएको तुलाधरले बताएका छन् । पार्टीबाट मन्त्री भएकाहरु र शिर्ष नेताहरुबीच छलफल हुने र आवश्यक निष्कर्षमा पुगिने बताइएको छ । एकीकृत समाजवादीबाट विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्री मन्त्री छन् भने भवानी खापुङ राज्यमन्त्री रहेकी छिन् । नेकपा एस स्रोतका अनुसार सवै मन्त्री परिवर्तन हुने छन् ।
उपमहासचिव तुलाधरले मन्त्री फेरबदल गर्ने निर्णय सवैले मान्नुपर्ने समेत बताएका छन् । त्यस्तै उनले बाम एकता राम्रै कुरा भएको भएपनि इमान्दारी नभए राम्रो नहुने पुष्टि भइसकेको जिकिर गरेका छन् । तुलाधरले गठबन्धन भत्काएर मुलुकलाई बबार्दीतर्फ लान नहुने पनि बताएका छन् ।
सचिवालय बैठकले पार्टीका सवै कमिटीहरुलाई प्राकृतिक बिपतको पूर्वतयारीका लागि परिचालन गर्ने निर्णय गरेको उनले बताएका छन् ।
समाजवादीले छिटै केन्द्रीय कमिटी बैठक बस्ने र त्यसपछि केन्द्रीय परिषद्को बैठक बोलाउने तयारी भइरहेको जनाएको छ ।























