काठमाडौँ । पोखरा महानगरपालिका १८ को वडाध्यक्षमा ३ मतले चुनावमा पराजित भएका एमाले उम्मेदवार पुस्कलबहादुर थापाले मुद्दा दायर गरेका छन् ।
उनले चुनावमा खसेको मतभन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गर्नका लागि मुद्दा हालेको बताए । उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नवनिर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएका छन् ।
यो वडामा नेपाली काँग्रेसका शिव तिमिल्सिनाले ३ मत अन्तरले चुनाव जितेका थिए । ५ हजार ८ सय ४३ मतदातामध्ये ४ हजार ३ सय ४८ मत खसेको थियो । गणनाका क्रममा ४ हजार ३ सय ३९ मत मात्र भेटिएको थियो । मतपत्र छुट्याउने क्रममा ९ मत गायव पारिएको थापाले आरोप लगाएका छन् ।
उनले गणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुनः गणनाको माग सहित निवेदन दिएका थिए । तर पुनः गणना हुन सकेन । उनले भने- हारजित स्वाभाविक हो । लोकतन्त्रमा निर्णय मान्नुपर्छ तर खसेको मत त देखाउनुपर्यो नि । खसेका ९ मतको जवाफ चाहियो ।




















