काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारततर्फ बिजुली निर्यात सुरू गरेको छ । आन्तरिक उत्पादनले माग धान्दै बढी हुन थालेपछि आजदेखि भारतमा बिजुली निर्यात सुरू गरिएको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताएका छन् ।
पछिल्लो समय निरन्तर वर्षा भएपछि नेपालको उत्पादन बढेर १३०० मेगावाटसम्म पुगेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले त्रिशुली र देवीघाट जलविद्युत आयोजनाबाट उत्पादित ३७.७ मेगावाट बिजुली निर्यात सुरू गरेको बताइएको छ । गत वर्षको मंसिर २४ गतेसम्म ३९ मेगावाट बिजुली निर्यात गरेको प्राधिकरणले आन्तरिक उत्पादन घट्दा तीन महिना भारतबाट बिजुली आयात गरेको थियो ।



















