काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले चुनावी सरकारले आफ्नो प्राथमिकता नबुझी हावादारी बजेट ल्याएको बताएका छन् ।
यो सरकारको म्याद पाँच महिनाको भए पनि उसले ‘स्वर्ग पुर्याउने’ कुरा बजेटमा गरेकाे प्रतिक्रिया पौडेलले दिए । उनले भने- ‘पाँच महिना समय बाँकी भएको सरकारले दीर्घकालीन महत्वका योजनाको कुरा गरेको छ । स्वर्ग बनाइदिन्छु भनेर हावादारी कुरा गरेको छ ।’
यो सरकारले चुनावका लागि आवश्यक बजेट र नियमित खर्चको व्यवस्थाभन्दा पर सोच्न नहुने उनले बताए । उनले अगाडि भने- ‘यो सरकारले चुनावका लागि आवश्यक खर्च छुट्याएको छु, चालु आयोजनालाई निरन्तरता दिएको छु । दैनिक प्रशासनिकतर्फ आवश्यक बजेट व्यवस्था गरेको छु भन्नुपर्ने हो ।’
सरकारले प्राथमिकता भुलेर बजेट ल्याएको उनले बताए । ‘मुलुक आर्थिक संकटमा छ । मुलुकलाई आर्थिक लयमा फर्काउने कुरा छोडेर कर्णाली नदी र कोशी नदी जोड्ने हावादारी कुरा गरेको छ’, पौडेलले भने ।

























