काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र संकटमा रहेकाले आयात घटाउनैपर्ने बताएका छन् ।
प्रतिनिधिसमामा नीति तथा कार्यक्रमबारे बोल्दै महामन्त्री थापाले भने, ‘हाम्रो अर्थतन्त्रको अवस्था संकटमा फस्न थालेको छ, यसमा सरकारको ध्यान जानुपर्छ ।’
यो संकटबाट विगतमा जस्तै गरी पार लगाउन नसकिने उनको भनाइ छ । १० महिनाको अवधिमा १६ खर्बको आयात र १ खर्बको निर्यात भएको भन्दै उनले आगामी वर्ष यो अझ बढ्ने उल्लेख गरे । नेपाललाई व्यापारघाटा चिन्ताको विषय भएको भन्दै अब ठूलो हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात प्रतिस्थापनमा जानुपर्नेमा उनले जोड दिए ।
खाद्यान्नमा समेत यस्तै अवस्था रहेको भन्दै उनले उत्पादकत्व बढाउन सरकारले ठीक नीति ल्याउनुपर्ने बताए । आयात प्रतिस्थापनका लागि बजेटले सम्बोधन गर्नुपर्ने उनले बताए । आगामी वर्ष प्रेस, हेलिकोप्टर जस्ता वस्तु नचाहिने भन्दै सरकार आफैंले अनावश्यक वस्तु खरिदलाई निरुत्साहित गर्नुपर्ने बताए ।




















