काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले सङ्कटग्रस्त अर्थतन्त्रलाई उकास्ने गरी नीति तथा कार्यक्रम नल्याएको बताएका छन् ।
उनले अर्थतन्त्र सामान्य अवस्थामा भए जसरी सरकार प्रस्तुत भएको पनि बताए । जेठ १० गते सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा आज सहभागी हुँदै उपाध्यक्ष पौडेलले अर्थतन्त्र उकास्ने र आर्थिक वृद्धिदर उच्च पार्ने कुनै योजना नै नभएको भन्दै सरकारको चर्को आलोचना गरे ।
“संकटोन्मुख अर्थतन्त्र यतिबेलाको सबैभन्दा ठूलो समस्या हो । चुनौती हो । तर, नीति तथा कार्यक्रम सङ्कट समाधानप्रति बेखर छ । संकटोन्मुख अर्थतन्त्रबारे सरकार चालै नपाए जस्तो गरेर अर्थतन्त्र सामान्य अवस्थामा भए जसरी प्रस्तुत भएको छ”, उनले भने, “अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, प्रतिस्पर्धी बनाउने र कसरी आर्थिक वृद्धिदर उच्च बनाउने भन्ने कुनै नीति सरकारसँग छैन ।”
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई दिशाहीन र गन्तव्यहीन भएको उनले टिप्पणी गरे । उनले नीति तथा कार्यक्रमलाई इतिहासकै सबैभन्दा कमजोर, मुलुकको समस्या नचिनेको, समाधान दिन नसक्ने खोक्रो र सारहीन भएको पनि उनले बताए ।




















