काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायकमन्त्रीलाई देउवा सरकारले गुम्बाको भ्रमण गर्न अनुमति दिएकोमा आपत्ति जनाएका छन् ।
सरकारको नीति तथा कार्यक्रमाथि संसदमा भएको छलफलमा भाग लिँदै ओलीले आफू लिमी भ्याली जाँदा अनुमति लिएर जानुपरेको सुनाए । उनले अघि भने, ‘विदेशीमन्त्री आएर इजाजत लिनुपर्छ कि पर्दैन ? लिनुपर्छ भने कसरी दिनुभयो ? कसको पक्षमा इजाजत दिनुभयो ? कसको विपक्षमा दिनुभयो ?’
उनले सरकारलाई छिमेकी सम्बन्धका संवेदनशीलता बुझ्छ कि बुझ्दैन भन्ने प्रश्न गरेका छन् । ‘कति लाचारी ? सत्ता कति प्यारो ? वात्तैपिच्छे सत्ता फुत्की हाल्छ ? कस्तो अचम्म ?’ उनले भने,’गठबन्धन बलियो छ भन्नुहुन्छ । तर एउटा सहायक विदेशमन्त्री आयो भने थुरथुर । तपाईंहरूको तीन दिन कामज्वरो हट्दैन । अनि कसरी आफ्नो स्वाधिनताको रक्षा गर्नुहुन्छ ।’
नेपालले एक चीन नीतिमा प्रतिवद्धता जनाएको भन्दै उनले छद्म नीति नलिन आग्रह गरे। ओलीले अघि भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, मैले उठाएका प्रश्नहरुको जवाफ आउनुपर्छ । नेपाल एक चीन नीतिमा छ कि छैन ? सन्तुलित, एउटाका विरुद्ध अर्कोको भूमि प्रयोग हुन नदिने नीतिमा अडिग छ कि छैन ?’
अमेरिकी विदेश मन्त्रालयको नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकार सम्बन्धी उपमन्त्री उज्रा जेया नेपालस्थित तिब्बती शरणार्थी शिविरमा पुगेको विषय उठाउँदै ओलीले अहिलेको सरकारले विदेशी कूटनीतिज्ञ, मन्त्रीहरू र प्रतिनिधिहरूको भ्रमणलाई न्यूनतम कूटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय मान्यताअनुकूल बनाउन नसकेको आरोप लगाए ।
‘एउटा सहायकमन्त्री आउँदा स्कर्टिङ दिएर गुम्बागुम्बामा कहाँ कहाँ पुर्याइयो,’ उनले भने, ‘यसले हाम्रो छिमेक सम्बन्धसँगको इमान्दारिता हुन्छ कि हुँदैन ?’
एमाले अध्यक्ष ओलीले नेपालको संविधानले विदेश नीतिमा तटस्थता, आफ्नो राष्ट्रिय स्वतन्त्रता र स्वतन्त्र परराष्ट्र नीति आफैं तय गर्ने, कुनै पनि राष्ट्रका व्यक्तिलाई कहाँ जान दिने, कहाँ नदिने भन्ने स्पष्ट पारेको बताए । उनले आफू यही मुलुकको पूर्वप्रधानमन्त्री भएर पनि हुम्लाको लिमी जाँदा अनुमति लिएको भन्दै अर्को मुलुकको सहायक मन्त्री आउँदा गुम्बामा जान किन अनुमति दिएको भनेर प्रश्न गरे ।
उनले छिमेकी मुलुकसँगको सम्बन्धमा हुनसक्ने असन्तुलन र विकसित हुन सक्ने संशयबाट नेपाल र नेपालीले ब्यहोर्नुपर्ने परिणामप्रति सरकार जिम्मेवार नरहेको बताए । उनले मुलुकको परराष्ट्र नीतिको असंलग्नता, न्यायोचित तटस्थता, निष्पक्षता र स्वतन्त्रतामाथि प्रहार नगर्न सरकारलाई चुनौती दिए ।
‘नेपालको परराष्ट्र नीति र सम्बन्ध अहिलेको यो गठबन्धन नामको कृत्रिम, आर्टिफिसियल, पासा फ्याँकेर ल्याएको सरकार, अस्थायी सरकार, म्यादी सरकारको निजी विषय होइन,’ उनले भने, ‘तपाईंहरूलाई जे पनि गर्न छुट छैन । म त्यतापट्टि ध्यानाकर्षण गराउन चाहन्छु ।’
‘नेपाली भूमि कसैका विरुद्ध प्रयोग गर्न नदिने सदासदाको दृढ अडान हो । यसमा सरकार अड्नुपर्छ,’ उनले भने, ‘हाम्रो परराष्ट्र नीति पारस्परिक लाभ र सम्मानमा आधारित हुनुपर्छ । स्वतन्त्र, तटस्थ, असंलग्न र निष्पक्ष हुनुपर्छ । सार्वभौम स्वावलम्बनको नीति अवलम्बन गरिनुपर्छ । वास्तविक अर्थ र मर्मका साथ आफ्नो देशको स्वाधीनता र स्वतन्त्रताको प्रयोग हुनुपर्छ ।’