काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले ९ महिना लामो प्रतिनिधिसभा (संसद)मा जारी अवरोध अन्त्य गरेको छ ।
मंगलबार संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोलेका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचनले मुलुक एउटा कोर्समा गएकाले संसदको अवरोध हटाउने निर्णय गरेको बताए ।
ज्ञवालीले भने, ‘अदालतले कारबाही नगरेपनि भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले उचित ढंगले फैसला गरेका छन् भन्ने लाग्छ । विभाजनका कारकहरुको परीणामलाई हामीले हेरिरहेका छौं ।’
उनले आर्थिक अवस्थासहितका कारण देश संकटमा पर्दा पनि प्रधानमन्त्री र विभागीय मन्त्री गम्भीर बन्न नसकेको आरोप लगाए । ‘सत्ताको सेटिङ तुहिएको छ भने प्रधानमन्त्रीज्यू ब्युँझिनुहोस्, मन्त्रीज्यू ब्यूँझिनुहोस्, देश संकटमा छ’, उनले भने, ‘देश संकट पर्दा पनि सरकार गम्भीर बन्न सकेन । हामी यसको खबरदारी गर्छौैं ।’
एमाले सांसद ज्ञवालीले निर्वाचन नै गराउन नचाहको सरकारले राज्य शक्तिको प्रयोग गरेर चुनावमा धाँधली गरेको आरोप लगाए ।
‘पहिला त सरकारले निर्वाचन नै गराउन चाहेको थिएन। अन्तिम समयमा पनि चुनाव सार्ने तयारी गरेको थियो,’ उनले भने, ‘चुनावमा राज्यशक्ति प्रयोग गरेर धाँधली गरियो, यो संसदमा रेकर्ड गराउन चाहन्छौँ ।’
एमालेविरुद्ध लागेको गठबन्धनको सामना गर्दै एमाले निर्वाचनमा होमिएको बताएका उनले अहिले आइरहेको परिणामबाट एमाले नआत्तिएको बताए ।
संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा विभिन्न आठवटा अध्यादेश पेस गरिएको हो ।
गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८’, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ र तेजाव तथा अन्य पातक रासायनिक पदार्थ नियमता अध्यादेश २०७८’ पेस गरेका हुन् ।
यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ पेस गरेका हुन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले रेल्वे अध्यादेश, २०७४’ पेस गरिन् ।
सोही बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ पेस गरेका हुन् ।




















