धनगढी । टिकट वितरण प्रक्रियामा असन्तुष्टि जनाउँदै धनगढीको एउटै वडाका ५७ जना कांग्रेस क्रियाशील सदस्यहरूले राजीनामा दिएका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा पार्टीकै विरुद्ध बागी उम्मेदवारी दिएका बुद्धि खड्कालाई यसपटक वडा अध्यक्षको टिकट दिएको भन्दै धनगढी–४ बाट कांग्रेसका ५७ जना क्रियाशील सदस्यले सामूहिक राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा २०७४ को निर्वाचनमा कांग्रेसबाट विजयी वडा अध्यक्ष दीपकबहादुर थापा क्षेत्री, कांग्रेसका निवर्तमान वडा सभापति अनन्तराज जोशी, पूर्व सभापति छत्र बडैला, निवर्तमान कोषाध्यक्ष इन्दिरा जोशी लगायतका नेता रहेका छन् ।
बिहीबार पत्रकार सम्मलेनको आयोजना गर्दै कांग्रेसमा विधि र पद्धति अन्य भएको र इमानदार कार्यकर्ताको आवश्यकता नरहेको ठहर गर्दै सामूहिक राजीनामा दिएको निवर्तमान सभापति अनन्तराज जोशीले बताए ।
‘अघिल्लो निर्वाचनमा कांग्रेसबाटै उम्मेदवार दिएर पार्टीलाई समाप्त पार्न खोजेका बुद्धि खड्कालाई कारबाही नसकिँदै वडा अध्यक्षको उम्मेदवारी दिइएको छ,’ उनले भने, ‘यसले पार्टीको सिद्धान्त र नीति सकिएको ठहर गर्दै अहिले सामूहिक राजीनामा दिएका हौं ।’ आसन्न स्थानीय तहको निर्वाचनका लागि वडा नम्बर ४ बाट अध्यक्षका लागि ११ को नाम वडाबाट सिफारिस भएकोमा छलफल नै नगरी बागी उम्मेदवारलाई टिकट दिएको उनको आरोप छ ।
आफूहरू ९९ जना क्रियाशील सदस्यलाई उपेक्षा गरी बागी उम्मेदवारलाई नै टिकट दिएकाले पार्टीमा नबस्ने निर्णयसहित सामूहिक राजीनामा दिएको उनीहरूले बताएका छन् ।
वडा नम्बर–४ का पूर्वसभापति छत्र बडैलाले वडामा रहेका योग्य
सदस्यलाई बेवास्ता गर्दै बागी उम्मेदवारलाई आधिकारिकता दिए पनि सबैले राजीनामा दिएको बताए । ‘म ४ वर्षदेखि वडा अध्यक्षका लागि तयारी गरिरहेको थिए,’ उनले भने, ‘तर आज मलाई जानकारी नै नगराएर अन्तिम समयमा केन्द्रबाट नै अर्कैलाई अध्यक्षको उम्मेदवार बनाइएको छ, यसले हामीलाई दुखी बनाएको छ ।’
वडा नम्बर–४ बाट वडा सदस्यमा सिफारिस भएकी इन्दिरा जोशीले मनोनयन गर्ने वेला आफ्नो नाममा टिपेक्स लगाएर अर्कैलाई मनोनयन गर्न लगाएको बताइन् । वैशाख १२ गते दिउसो १ बजेसम्म पनि आधिकारिक उम्मेदवार मनै थिए,’ उनले भनिन्, ‘अन्तिममा मेरो नाममा टिपेक्स लगाएर अर्कैलाई मनोनयन गर्न लगाइयो, मैले लामो समय पार्टीमा काम गरेको सजाय पाइसके, आजदेखि स्वतन्त्र भएर बस्छु ।’