काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको पार्टीलाई तीन सिट जितेर देखाउन चुनौती दिएका छन् । एमाले निकट स्वास्थ्यकर्मी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो चुनौती दिएका हुन् ।
एमाले अध्यक्ष ओलीले ४ सिट पनि ल्याउन नसक्ने प्रचण्डलाई ५४ सिटको पार्टी बनाइदिँदा उल्टै माधव नेपाल जस्ता कुण्ठाग्रस्त मान्छेहरूलाई बोकेर आफूमाथि झम्टिएको बताए । उनले भने ‘ देश बनाउनका लागि भनेर प्रचण्ड माधवलाई बहुमत दिएँ तर उल्टै मलाई हटाउन हिंडे, दिएको बहुमतको दुरुपयोग गरे ।
ओलीले प्रचण्ड र माधव नेपाललाई भस्मासुर (महाभारतको एक पात्र)को संज्ञा दिएका छन् । आफूले वरदान दिएर उनीहरूलाई पार्टीमा बहुमत बनाइदिए पनि आफ्नै टाउकोमा हात ल्याएको ओलीकाे आरोप थियाे ।
अध्यक्ष ओलीले भने-‘मैले वरदान दिएँ तर मेरै टाउकोमा हात राख्ने भष्मासुर प्रवृत्ति देखाए । माधव नेपाल २३ सिट ल्याउने हुती भएको मान्छे हुन् ? पार्टीभित्रको कुरा हो भनेर खुरुखुरु दिइयो तर एमालेलाई दिएको भोट बेचेर हिँडे । माधव नेपालले अब तीन सिट ल्याएर देखाउन् ।’
अध्यक्ष ओलीले देश बनाउनका लागि प्रचण्ड–माधवलाई बहुमत दिएर पार्टी एकता गर्दा उल्टै आफैँलाई हटाउन खोजेपछि उनीहरूलाई औकातमा फर्काइदिएको टिप्पणी गरे ।
एमालेको भोट बेचेर कतिपय मन्त्री भएको भन्दै अध्यक्ष ओलीले वास्तविक जनमत वैशाख ३० पछि मात्र प्रकट हुने बताए ।
उनले भने- ‘मन्त्री खानका लागि एमालेको भोट बेचेर केही मोटामोटा थलथले ज्यान भएकाहरू खुरुरु दौडेर भित्तातिर हिँडेका छन्, वास्तविक जनताको जनमत वैशाख ३० पछि मात्र प्रकट हुनेछ।’

























