काठमाडौं । नेपाली राष्ट्रिय फुटसल टोली कीर्गिस्तानको साविक विजेता फरवाटर एफसीसँग पराजित भएको छ । कीर्गिस्तानस्थित बिस्केकस्थित मेडिकल युनिभर्सिटीमा सम्पन्न खेलमा नेपाली टोली २-० गोलअन्तरले पराजित भएको हो ।
खेलको २०औं मिनेटमा कीर्गिस्तानी टोलीले अग्रता बनाएको थियो । पहिलो हाफमा एक गोलले पछि रहेको नेपालले दोस्रो हाफमा दबाब बनाउँदै उत्कृष्ट पुनरागमन गरेको थियो ।
दोस्रो हाफमा खेलमा दबाब बनाए पनि नेपालका तीनवटा प्रहार गोलपोस्टमा ठोक्किएर बाहिरिएका थिए । तर, ४३ औं मिनेटमा कीर्गिज टोलीले काउन्टरमा गोल थप्न सफल भयो।
त्यसअघि नेपाली टोलीका आदिल अहमदले कर्नरबाट पाएको बललाई पोस्टको दिशा दिँदै गोल गरे पनि त्यसलाई रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् ।
फरवाटर टिमका प्रशिक्षक गफुरोभ रुस्लानले दुवै टोलीले राम्रो खेलको भए पनि आजको खेलमा आफूहरू भाग्यमानी रहेको बताए ।
‘दुबै टोली राम्रा र उस्तै स्तरका थिए। तर, आजको खेलमा हामी भाग्यमानी ठहर्यौं। अन्य टिमका लागि नेपाल राम्रो प्रतिस्पर्धी हुन सक्छ,’ उनले भने ।
त्यस्तै नेपाली टोलीका प्रशिक्षक गौरव बस्नेतले मैत्रीपूर्ण खेलमा सुधार भएको बताए । ‘अघिल्लो खेलमा भन्दा राम्रो भएको छ। पहिलो हाफमा केही कमजोरी रहे पनि दोस्रो हाफमा राम्रो पकड बनाउन सक्यौं। मौकाहरु धेरै बनाउन सक्यो। १३/१४ वटा टार्गेटमा सट प्रहार गरे पनि फिनिसिङ गर्न नसक्दा पराजय ब्यहोर्यौं,’ उनले भने ।