काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र एक-एक लाख नगद दिने घोषणा गरेका छन् ।
अध्यक्ष ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र रु. एक-एक लाख दिने घोषणा गरेका हुन् ।
नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेको बताए । उनले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पु-याउने बताएका छन् ।
उनले अहिले मुलुकको अर्थतन्त्र सङ्कटमा परेको उल्लेख गर्दै लगानी गर्ने पूँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न सक्दैन बताए । उनले जनमैत्री कार्यक्रम गर्न सरकारलाई सुझाव पनि दिएका छन् ।