काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदलाई मन्त्री बनाएका छन् । प्रम देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) कानुन, न्याय तथा संसदीय मामिलामन्त्री मन्त्री नियुक्त गर्नुभएको हो ।
संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने छन् । तर यसरी नियुक्त भएका मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ । अन्यथा मन्त्री पद स्वत खारेज हुन्छ ।
सत्तारुढ दल नेकपा एस निकट बन्दीले देउवाको नेतृत्वमा सरकार गठनका लागि सर्वोच्च अदालदतमा परमादेश जारी गराउन र एमसीसी अनुमोदनका लागि व्याख्यात्मक टिप्पणी तयार पार्ने काममा ठूलो सहयोग पुर्याएका थिए । गत फागुन १६ गते संसदबाट पास भएको अमेरिकी सहायता परियोजना एमसीसीबारे १२ बुँदे व्याख्यात्मक घोषणाको ड्राफ्ट वन्दीले नै गरेका थिए । त्यसैको उपहारस्वरुप उनलाई मन्त्री बनाएको देखिन्छ ।
बन्दी कानुनमन्त्री भएपछि उक्त मन्त्रालय सम्हाल्दै आउनु भएका नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने बताइएको छ ।

देउवाले २२ साउनमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका नातेदार गजेन्द्र हमाललाई मन्त्री नियुक्त गर्नु भएको थियो । तर चर्को विरोध भएपछि हमालले केही दिनमै राजीनामा दिएपछि सो मन्त्रालय प्रधानमन्त्रीले आफैंले संहाल्दै आएका थिए ।
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको महामन्त्री पदमा हारेपछि मन्त्री पदबाट राजीनामा दिएपछि रक्षा मन्त्रालय अझै खाली छ । प्रधानमन्त्री देउवाले आफैले सम्हाल्दै आएका छन् ।

























