काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनमा सत्ताधारी पाँच दललाई चुनावी तालमेल गर्न चुनौती देखिएको छ । स्थानीय निर्वाचन जति जति नजिकिँदै छ सत्तारुढ दलभित्रका मतभेदहरु सतहमा देखिँदै गएका छन् । सत्ताको स्वार्थ पूर्तिका लागि बनाइएको गठबन्धनमा निर्वाचनमा तालमेल गर्ने एजेण्डामा एकमत हुन सकेको छैन ।
सत्ताधारी पार्टीहरू चुनावमा आफ्नो पक्षमा कसरी धेरै सिटमा पार्ने भन्ने ध्याउन्नमा छन् । यसो हुनु स्वाभाविक हो । प्रमुख प्रतिपक्षी दल एमालेमा देखिएको जनलहरबाट सत्ताधारीहरु आत्तिएका छन् । तथापि यो देशमा नेकपा एमाले र नेपाली काङ्ग्रेस दुईवटा ठुला पार्टीहरू नै यो चुनावका मुख्य खेलाडी हुन् ।
नेकपा एमाले एक्लै सबैभन्दा बलियो पार्टीको रूपमा चुनाव अगाडि नै स्थापित भएको छ । त्यसैले अरू धेरथोर चर्चामा भएका पार्टीहरू नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाको पाँच दलीय गठबन्धनको सरकार छ र त्यसले स्थानीय चुनावमा पनि गठबन्धन गरेरै जाने सैद्धान्तिक कुरा गरेको छ ।
यो गठबन्धनले एउटा कुरा स्पष्ट पारेको छ, त्यो के हो भने नेपालको सबैभन्दा ठुलो पार्टी नेकपा एमाले नै हो, त्यस पार्टीसँग एक्लाएक्लै भिड्न सकिँदैन । हुन त नेकपा एमाले अघिल्ला चुनावहरूमा पनि देशको सबैभन्दा ठुलो पार्टीकै रूपमा स्थापित भएकै हो तर नेकपा एमालेबाट माधव नेपाल र झलनाथ खनालहरू उछिट्टिएर अलग पार्टी गठन गरेपछि केही समय केही पार्टी र तिनका नेतालाई भ्रम थियो अब नेकपा एमाले विभाजित भएको छ । ठुलो पार्टी भनेको नेपाली काङ्ग्रेस नै हो । तर वर्तमान राजनीतिक गतिविधिलाई हेर्ने हो भने आगामी चुनावमा नेकपा एमालेलाई पहिलो पार्टी बन्न कसैले रोक्दैन ।
गठबन्धनको ध्यान स्थानीय पालिकाको चुनावमा सकेसम्म बढी सिट आफ्नो भागमा पार्नु हो । यसका लागि एक्ला एक्लै चुनावमा जाँदा एमालेसँग हारिने ठानेर नेपाली काङ्ग्रेस नै गठबन्धनको पक्षमा उभिएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चा त एक्लै चुनाव लडेर कुनै सिटमा पनि जित हासिल गर्न सकिन्छ भन्ने मनस्थितिमै छैनन् । सायद यो गठबन्धनले यी साना दललाई केही सिट प्राप्त होला । माधव नेपाल र झलनाथ खनालको ध्याउन्न आफूले कहाँ र कति जित्ने भन्ने सोच बदलिएर नेकपा एमालेलाई कसरी हराउने र केपी ओलीलाई कमजोर पार्नेभन्दा माथि छँदै छैन । एमालेलाई कमजोर बनाउन सके आफ्नो बार्गेनिङ पावर बढ्ने र फेरि एमालेमा छिर्न सकिन्छ कि भन्ने ध्याउन्नमा नै यी दुई नेताको बाँकी जीवन बित्ने छ ।
नेपाली काङ्ग्रेसले जुन गठबन्धनको कुरा गरेको छ, यसबाट सबैभन्दा धेरै घाटा उसैलाई भएको छ, हुनेवाला छ । नेपाली काङ्ग्रेस एक्लै चुनावमा जान सक्दैन, डराएको छ भनेर जुन सन्देश गएको छ, त्यसको मनोवैज्ञानिक फाइदा नेकपा एमालेलाई भएको छ भने नोक्सानी नेपाली काङ्ग्रेसलाई हुनेछ ।
अबका दिनमा गठबन्धनको चुनौती अझैँ थपिँदै जानेछ । गठबन्धनका पाँच दलमा नेपाली काङ्ग्रेसबाहेकका पार्टीमा नेता धेरै र जनता थोरै छन् । नेताको व्यवस्थापन गर्न पनि तिनले धेरै सिटमा दाबी गर्नेछन् । तिनले भने जति पाउने कुरै भएन ।
नेकपा एमाले र नेता केपी ओलीका विरुद्धमा विगतमा जति धेरै दुष्प्रचार गरिए त्यसको पर्दा उघ्रिएको छ । त्यसैको परिणाम हो मधेस प्रदेशमा एमाले र केपी ओलीप्रति पछिल्लो समय देखिएको क्रेज ।
विगतमा नेकपा एमाले र नेता केपी ओलीलाई माओवादीको विरोधी भनेर खुब प्रचार गरिएको थियो । केपी ओली र एमालेसँग एकता गरेर मात्रै माओवादीको विगतको साख जोगिएको हो भन्ने सबैले बुझेका छन् । अहिले पनि माओवादीको साख जोगाइदिने जिम्मा नेपाली काङ्ग्रेसले लिएको छ । त्यो कति जोगिन्छ, समयले नै बताउनेछ ।
नेकपाबाट एमाले र माओवादी अलग हुँदा माओवादीका रामबहादुर थापा बादल सहितका ठुला नेताले केपी ओलीलाई साथ दिएर एमालेमा रहनु, माओवादीलगायत अन्य पार्टीबाट निर्वाचन जितेका धेरै जनप्रतिनिधिले नेकपा एमालेमा प्रवेश गर्नु, नेकपा माओवादीको आह्वानमा जनयुद्ध लडेका लडाकु धमाधम नेकपा एमालेमा प्रवेश गर्नु, प्रचण्डले नै आफ्ना स्वार्थ पूरा गर्न केपी ओलीको सहारा लिनुपरेको थियो । यस्तो माओवादी हविगतले केपी ओली र नेकपा एमालेप्रति लगाइएका सबै आरोप गलत थिए भन्ने कुरा प्रमाणित भएको छ ।
एमालेलाई मन नपराउने, एमालेलाई सिद्ध्याउन कसम खाएकाले बुझेको कुरा के हो भने केपी ओलीलाई कमजोर नपारी एमाले कमजोर पार्न सकिँदैन । त्यसैले तिनले न्वारानदेखिको बल निकालेर, सबै खालका मूल्य, आदर्श, मान्यता, आस्था र दर्शनलाई तिलाञ्जलि दिएर, आफ्ना कार्यकर्ताले पाउने अवसरलाई बलि चढाएर जति ठुलो गठबन्धन गरे पनि न एमाले कमजोर हुन्छ न गठबन्धनको सकस कम हुन्छ । बरु यो गठबन्धनले नेपाली काँग्रेसलाई अनावश्यक बोझ थपिने छ । यसबाट सबैभन्दा बढी घाटा कांग्रेसलाई हुने देखिन्छ ।