काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा चुनावी कार्यक्रमका लागि समय तोकेको छ । आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलस, प्रचारप्रसासहितका कार्यक्रमका लागि समय तोकेको हो ।
आयोगले जारी गरेको निर्देशनको १७ औं नम्बरमा यस्ता कार्यक्रमका लागि विहान ८ बजेदेखि साँझ ७ बजेसम्मका लागि समय तोकिएको हो ।
‘ जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारको कार्यक्रम गर्दा विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने’ आयोगले जारी गरेको निर्देशनमा भनिएको छ ।
त्यस्तै आयोगले अनुमति बिना कार्यक्रम गर्न रोक लगाएको छ । आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो ।
यसैबीच आयोगले स्थानीय तह निर्वाचनको आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदे प्रतिबद्धता गरेको जनाएको छ । आयोगले राजनीतिक दलहरूलाई आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदामा प्रतिबद्धता मागेको छ ।
मंगलबार निर्वाचन आयोगले ७९ दलहरूसँग निर्वाचन आचारसंहिताको विषयमा छलफल गरेको थियो । छलफलपछि आयोगले दलहरूलाई ६० बुँदे आचारसंहिता पालना गर्न भन्दै निर्देशन समेत दिएको हो ।
आयोगले वैशाख ३० को स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरुले आयोगमा उपस्थित भई आचार संहिता कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गरेको दाबी गरेको छ । तर नेकपा एमाले सहितका केहीले भने प्रतिबद्धतामा हस्ताक्षर गरेका छैनन् ।