काठमाडौं । विवादकाबीच निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरुबाट प्रतिबद्धता लिएको छ ।
सोमबार आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरुलाई बोलाएर आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रतिवद्धता लिएको हो । त्यसअघि निर्वाचनमा आचारसंहिताको छलफलमा भाग लिन नपाएको भन्दै साना दलहरुले नारावाजी गरेका थिए । आचारसंहितामाथि छलफल नै नगराइ प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेको भन्दै उनीहरुले आपत्ती जनाएका थिए । पछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उक्त बिषय नियमित प्रक्रियामात्र भएको बताएपछि साना दलहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।
हस्ताक्षरपछि कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिबद्धता लिने पुरानै अभ्यास रहेको र आयोगले यसपटक पनि आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता लिएको जानकारी दिए । साना दलहरुले अघि सारेको बिषयमा आयोगले प्रष्ट पारेको र अव कुनै विवाद नरहेको खड्काले बताएका छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुषालले छलफल नै नगराई आचारसंहिता बनाइएको र हस्ताक्षर गर्नमात्र बोलाइएकोमा केही दलले आपत्ती जनाएको वताउँदै आचारसंहितालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
त्यस्तै नेमकिपाका नेता प्रेम सुवालले आचारसंहिता पालना गर्ने÷गराउने बिषय राम्रो भएपनि सरकारमा रहेका दलहरुले आचारसंहिता पालना नगरेको बिषयमा आयोगको ध्यान जानुपर्ने बताएका छन् ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दलहको प्रतिबद्धता लिइएको बताएका छन् । यस क्रममा केही गलत बुझाइ रहेको र आयोगले स्पष्ट पारेपछि सवै दलले हस्ताक्षर गरेको उनले बताए ।
आयोगले निर्वाचन आचारसंहितामा निर्माणका क्रममा प्रमुख दलसंग छलफल गरेको थियो । आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ दलका प्रतिनिधिहरुलाई निर्वाचन आचार संहिताबारे जानकारी गराउने र ती आचार संहिता पालना गर्नेछौं भनेर लिखित प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाउन बोलाइएको थियो ।
























