काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टीबाट चुनाव जितेका दुईजना गाउँपालिका उपाध्यक्षसहित हजारौं जनालाई एमालेमा प्रवेश गराउने भएका छन् । सो सिलसिलामा आज उनी पर्साको वीरगञ्ज जाँदै छन् ।
एमाले केन्द्रीय प्रचार विभागका सदस्य एवं वीरगञ्ज महानगर कमिटीका उपाध्यक्ष महेश दासका अनुसार धोविनी गाउँपालिका उपप्रम्ुख पारस पटेल र सखुवाप्रसौनी गाउँपालिका उपप्रमुख फुलमती देवी थरुनी एमालेमा प्रवेश गर्दै छन् । यसैगरी नेकपा मालेका पर्सा जिल्ला सचिव लक्ष्मीराज न्यौपाने पनि आज एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
विपी उद्यान घण्टाघरमा आयोजना हुने कार्यक्रममा अन्य पार्टी त्यागेर ठूलो संख्यामा मानिसहरु एमाले प्रवेश गर्ने कार्यक्रम रहेको पर्सा जिल्ला अध्यक्ष जय प्रकाश थारुले बताए ।
वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमालेमा प्रवेश गरेपछि पर्साका जनप्रतिनिधि र अन्य पार्टीका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने लहर नै चलेको छ ।