काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको छ ।
नेपाल भ्रमणको अन्तिम दिन आइतबार विहान शितल निवास पुगी उहाँले राष्ट्रपतिसँग भेट गर्नुभएको हो ।
‘भेटवार्तामा राष्ट्रपतिज्यूले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको बताउनु भयो,’ राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भन्नुभयो, ‘उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत हुने समेत उहाँले बताउनु भयो ।’
कोरोना महामारी नियन्त्रण गर्न चीनले गरेको सहयोगप्रति राष्ट्रपति भण्डारीले विदेशमन्त्री वाङलाई धन्यवाद दिनुभएको थियो ।
नेपाल र चीनबीच रहेका सेता हिमाल र पहाडले दुई देशको सम्बन्धलाई नछेक्ने बरु जोड्ने काम गरेको उहाँले बताउनुभएको थियो ।
चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आउनुभएको थियो । उहाँले शनिबार परराष्ट्रमन्त्री डा नारायण खड्का र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको थियो ।