काठमाडौँ । स्थानीय चुनावको मिति घोषणासँगै देउवा सरकारमा खटपट सुरु भएको छ । चुनावी तालमेलको विषयलाई लिएर गठबन्धन सरकारमा असन्तुष्टि चुलिएसँगै सरकार सम्हालेको ९ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री फेरबदलको गृहकार्य चलाएका छन् ।
मन्त्रीका कामकारबाहीलाई लिएर चरम आलोचना भएपछि देउवाले मन्त्री फेरबदलबारे गृहकार्य चलाएका हुन् ।
प्रधानमन्त्रीमा सपथ खाएको झण्डै तीन महिनापछि सरकारलाई पूर्णता दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले झण्डै ९ महिनापछि मन्त्री फेरबदलको गृहकार्य चलाएका छन् । पाँचदलीय मोर्चाको नेतृत्व गर्दै सरकार सम्हालेका देउवाको गठबन्धनमा जनमोर्चा बाहिरिएको छ, अहिले चारदल कायम छन् । चारै दल सरकारमा सहभागी छन् । तर मन्त्रीहरुको कार्यप्रगतिमा कुनै तरिकाबाट सन्तोष हुने अवस्था देखिएको छैन ।
देउवाको सरकार बनेलगत्तै सर्वाधिक चर्चामा रहेका पात्र हुन् अर्थमन्त्री जनार्दन शर्मा । यसअघि उर्जामा रहँदा लोडसेटिङ अन्त्य गरेको जस खाएर हाइहाइ कमाएका उनी अहिले सबैभन्दा बढी आलोचित छन् । देशको अर्थतन्त्र नै तहसनहस बनाएको आरोप माओवादीका नेता शर्माले मात्रै खेपेका छैनन् । देउवालाई समेत कस्ता व्यक्ति मन्त्रिपरिषद्मा राखेको भन्दै आलोचित हुनु परेको छ । अर्थमन्त्री शर्माको फेरबदल अपरिहार्य भएको भन्दै देउवा अघि बढेको बालुवाटार उच्च स्रोतले बताएको छ । माओवादीका अन्य मन्त्रीको कार्यसम्पादनसमेत सन्तोषजनक छैन । यस्तै अर्को चर्चित पात्र हुन् रामकुमारी झाँक्री । कामका कारण गुमनाम बनेकी झाँक्री पिर्के सलामी खाएपछि चर्चामा आएकी थिइन् ।
अहिले पुनः गुमनाम छिन् । अलिअलि सरकारप्रति आशको त्यान्द्रो जगाएका पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किशान श्रेष्ठसमेत अहिले सेलाएका छन् । नेकपा एकीकृत समाजवादीले ६ महिनापछि मन्त्री फेर्ने सहमति भए बमोजिम अहिले पार्टीले फरक मन्त्री पठाउने तयारी गरेको छ । जसपाका मन्त्रीहरु त कोटा ओगट्नमात्रै मन्त्रिपरिषद्मा छन् । उनीहरुलाई चिन्ने पनि सायदै होलान् । फलतः देउवाका मन्त्री देखेर प्रमुख प्रतिपक्षले समेत मजाक उडाइरहेको छ । प्रधानमन्त्री देउवासहित सात मन्त्री काँग्रेसका रहेको सरकारमा पाँच जना माओवादी, पाँच समाजवादीका छन् ।
चार जना जसपाबाट मन्त्री भएका छन् । त्यसमध्ये काँग्रेसको भागमा परेको रक्षामा पाटीको चुनाव हारेपछि मिनेन्द्र रिजालले राजीनामा दिएका थिए । आपूर्तिमन्त्रीमा सर्वोच्चका तत्कालिन प्रधानन्यायाधीश र हाल सत्ता गठबन्धनले महाभियोग लगाएपछि निलम्बित बनेका चोलेन्द्रशम्सेर राणाको कोटाबाट मन्त्री बनेका गजेन्द्र हमालले २४ घण्टा नवित्दै राजीनामा दिएपछि देउवाले त्यसयता सो मन्त्रालयलाई मन्त्रीविहीन बनाएका छन् । मन्त्री भएका मन्त्रालयमा समेत कार्यसम्पादन नदेखिएपछि देउवाले फेरबदलको गृहकार्य चलाएका हुन् । यसले गर्दा सत्ता गठबन्धन दलमा चरम मतभेद हुँदै टुट्ने सम्भावना प्रवल देखिन्छ । त्यसैगरी आगामी निर्वाचनमा सत्ताधारी दलको पत्तासाफ हुने राजनीतिक विश्लेषकहरुले बताउँदै आएका छन् ।