काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच चुनावी तालमेललाई लिएर बार्गेनिङ सुरु भएको छ । सत्ता गठबन्धनको एक घटक माओवादीले चुनावी तालमेल नगरे कांग्रेससँग सरकार ढाल्ने चेतावनीसम्म दिन थालेको छ । माओवादी नेताहरूले चुनावी तालमेललाई लिएर धम्क्याउने, घुर्क्याउने खेल नै सुरु गरेका छन् ।
नेपाली कांग्रेसभित्र माओवादीलाई साथ लिएर चुनावमा जान सकिन्न भन्ने मत बढ्दै गएपछि माओवादीले भने सरकार नै ढालिदिने चेतावनी दिन थालेको हो ।
जसरी पनि माओवादीसँग चुनावी तालमेल गरेर जानुपर्ने नत्र सरकार ढाल्छौ भन्दै यसका नेताहरूले दबाब र धम्की दिन थालेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बर्षमान पुनलगायत नेताहरुले तालमेल नभए सरकार ढाल्ने चेतावनी दिने गरेका छन् । अझ अध्यक्ष दाहालले त एमालेसँग सहकार्य गर्ने धम्कीसमेत दिएका छन् । एमाले नेताहरू भने कुनै पनि हालतमा माओवादीसँग मिल्ने कुरामा सहमत देखिँदैनन् । यसअघि एमाले अध्यक्ष केपी ओलीले नाम मात्रका कम्युनिष्टहरुसँग अहिले एकताको कुनै आवश्यकता नभएको बताइसक्नुभएको छ । माओवादी नेताहरू अहिले पनि एमालेसँग मिल्ने घुर्की देखाएर कांग्रेसलाई चुनावी तालमेल गर्न बाध्य पार्ने रणनीतिमा लागेको एक नेताले बताए । यसका लागि माओवादी नेताहरुले न्वारनदेखिको बल लगाइरहेको देखिन्छ । तर कांग्रेस नेताहरू भने माओवादीसँग तालमेल नगरी चुनावमा जानुपर्ने अडानमा देखिएका छन् ।