काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले जनतालाई दैनिक रुपमा सेवा दिने जनप्रतिनिधिले चुनाव लड्दा राजीनामा दिनुनपर्ने बताएका छन् । उनले पालिका अध्यक्ष वा मेयरहरूले चुनावमा जानुअघि पद खाली गरी जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नुपर्ने किन भन्दै निर्वाचन आयोगलाई प्रश्न गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले स्थानीय चुनावमा जानुअघि पालिकाका मेयर वा अध्यक्षले राजीनामा दिन नपर्ने तर्क गरेका छन् ।
उनले पालिका अध्यक्ष वा मेयरहरू स्थानीय तहका प्रधानमन्त्री भएको जिकिर गर्दै पद खाली गरेर चुनावमा जानुनपर्ने तर्क गरेका हुन् । उनले प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु नपर्ने तर स्थानीय तहका ‘प्रधानमन्त्री’ पालिका अध्यक्ष वा मेयरहरूले चाहिँ चुनावमा जानुअघि पद खाली गरी जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नुपर्ने किन? भन्दै प्रश्न गरेका छन् ।
जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नु नहुने भन्दै निर्वाचनमा जाँदा पदको दुरुपयोग नहोस् भन्नेबारे सचेत चाहिँ हुनुपर्छ, तर यसलाई देखाएर काम नै रोक्नु ठिक नहुने उनले तर्क गरेका छन् ।
उनले कुनै पनि सेवा अवरुद्ध नहोस् भनेर अवधि सकिनु दुई महिनाअघि चुनाव गर्नुपर्ने कानुनी प्रावधान राख्ने, तर त्यही कानुन विपरीत पद खाली गर्ने प्रावधान आचारसंहितामा किन राख्ने भन्दै निर्वाचन आयोगलाई यो प्रावधान संशोधन गर्न आग्रह गरेका छन् ।