काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचन घोषणापत्र निर्माण गर्ने तयारी सुरु गरेको छ । पार्टी सचिवालयले निर्णय गरेको भोलीपल्टै एमालेले निर्वाचनको लागि घोषणापत्र लेखनको काम सुरु गरेको जनाएको छ ।
घोषणा पत्र लेखनका लागि महाराजगञ्जस्थित रोयल व्याक्वेटमा पार्टीको नीति अनुसन्धान विभागका प्रमुख बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा बैठक गरिएको छ । सो बैठकमा पार्टीका उपाध्यक्षहरु, महासचिव शंकर पोखरेल,उपमहासचिवहरु,सचिवहरु,राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.पुष्प कडेल, पुननिर्माण प्राधिकरणका निर्देशक सुशिल ज्ञवाली लगायतका नेताहरुको सहभागिता रहेको छ ।
पार्टी केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार आजका सहभागीहरुले विगतको निर्वाचनको घोषणा पत्रको समीक्षा र नयाँ समेट्नु पर्ने विषयमा केही प्रस्तावहरु तयार गर्नेछन् । बितेको पाँच वर्षको अवधिमा स्थानीय तहमा देखिएका राम्रा पक्ष र सुधारका पक्षहरुलाई समेत समेट्नका लागि गाउँपालिका महासंघ र नगरपालिका संघका अधयक्षहरुलाई पनि बैठकमा बोलाइएको छ ।
एक साताभित्र घोषणापत्र तयार गरेर आगामी चैत ९ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने एमाले स्रोतले जनाएको छ ।