काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय चुनावमा एमाले एक्लैले ६० प्रतिशत सिट जित्ने दाबी गर्नुभएको छ । अखिल नेपाल महिला सङ्घको बैठकलाई मङ्गलवार काठमाडौंमा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै उहाँले नाम मात्रका कम्युनिष्टहरुसँग मिल्न आवश्यक नरहेको बताउनुभयो । ‘यी नामका कम्युनिष्ट हुन् कामका होइनन्, हामी कसैसँग मिल्न आवश्यक छैन, स्थानीय निर्वाचनमा हामी ६० देखि ७० प्रतिशत एक्लै जित्छौ’, ओलीले भन्नुभयो ।
उहाँले कम्युनिष्ट पार्टी ढालेर दक्षिणपन्थी सरकार बनाउनेहरू कम्यिुनिष्ट हुन नसक्ने भन्दै एकता सम्भव नभएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो ‘केही स्वार्थी तत्त्व कम्युनिष्ट पार्टी सिद्ध्याउन लागे त्यस्तासँग हाम्रो एकता सम्भव छैन।’
नेकपा एमाले प्रतिपक्षमा हुँदा पनि पार्टी प्रवेश गर्नेको लहर चलेको भन्दै ओलीले कम्युनिष्टको नाममात्रको खोल ओढेकाहरू एकता आवश्यक भनेर कार्यकर्तालाई निराश बनाउन लागिपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘नेकपा एमालेका बारेमा कम्युनिष्ट पार्टीहरू मिल्ने कि समाप्त हुने भनेर तथाकथित बुद्धिजीवी त्यसमा कोही कम्युनिष्टको खोल ओढेका पनि हुन्छन् उनीहरूले लेख्छन् र निराश बनाइदिन्छन् । हिजो मात्रै मोहन वैद्यले स्थानीय चुनाव बहिष्कार गर्ने भन्दै थिए । किन बहिष्कार गर्ने भन्दा कहीँ पनि नजित्ने भएर । अब त्यो पार्टीसँग मिलेर चुनाव लडेन भने एमाले सिद्धिन्छ रे । एउटा बुद्धिजीवीलाई त्यस्तो लागेछ।
उहाँले आफूहरू जनादेश लिन जनताकोमा जान लागेकोले अरू पाँच दल वा सात दल मिलेर लडे पनि फरक नपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले एमालेलाई जिस्काउने कुरा नगर्न म सबैलाई सुझाव दिनुभयो । झण्डै दुईतिहाइको हैसियतमा रहेको कम्युनिष्ट पार्टीलाई फुटाउने कम्युनिष्ट हुन्छ आफ्नो पार्टीको सरकारलाई भोट नदिएर भाग्ने, अन्त गएर भोट हाल्ने । पार्टीलाई भोट हाल्न परे नहाल्ने, प्रतिक्रियावादीलाई परे पछिल्लो ढोकाबाट गएर भोट हाल्ने । यस्तालाई कम्युनिष्ट मानेर एमालेले मिलिदिनुपर्ने ?’
अध्यक्ष ओलीले देशमा दुई खाले राजनीतिक शक्ति रहेको भन्दै कम्युनिष्ट एकता भनेर गीत गाउँनु बेकारको तमासा भएको बताउनुभयो ।