काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक समृद्धि गर्नका लागि निर्यातमूलक उत्पादन गर्नुपर्नेमा जोड दिनुभएको छ । एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले अर्थतन्त्रको वर्तमान अवस्थाबारे आइतबार आयोजना गरेको अन्तरक्रियामा उहाँले आत्मनिर्भर अर्थतन्त्रको जगका रूपमा कृषि उत्पादनलाई बढोत्तरी गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा सिफारिस हुनु उपलब्धि भएको उल्लेख गर्दै उहाँले दिगो विकास लक्ष्य प्राप्त गर्ने सन्दर्भमा १४ सूचकहरूमा सन्तोषजनक प्रगति भएकाले नेपालले समयभित्रै दिगो विकास लक्ष्य पूरा गर्ने अवस्थामा रहेको उल्लेख गर्नुभयो । तथापि दिगो विकासको लक्ष्य हासिल गर्ने अवस्थामा देशको अर्थतन्त्र नै धराशायी अवस्थामा पुग्ने हो कि भन्ने खतरा रहेको उहाँको भनाइ थियो ।
अध्यक्ष ओलीले आर्थिक समृद्धिका लागि भौतिक पूर्वाधार, कनेक्टिभिटी, मानव संसाधन विकास, डिजिटल नेपाल, ऊर्जा, कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
एमाले अध्यक्ष ओलीले कोभिड महामारीको जोखिम विश्वव्यापी रूपमै करिब नियन्त्रणको बाटोमा रहेकाले अब आर्थिक गतिविधि लयमा फर्कने विश्वास व्यक्त गर्नुभयो । उहाँले सञ्चालित आयोजना समयमै सम्पन्न गर्ने र आधुनिक पूर्वाधार, रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्छ भन्नुभयो । अध्यक्ष ओलीले मुलुकको विद्यमान अर्थतन्त्रको अवस्थाबारे सार्वजनिक गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षणसमेत गराउनुभयो ।
अध्यक्ष ओलीले आर्थिक समृद्धिका लागि भौतिक पूर्वाधार, कनेक्टिभिटी, मानव संसाधन विकास, डिजिटल नेपाल, ऊर्जा, कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
सो कार्यक्रममा पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगर्डले खस्कँदो अर्थतन्त्रलाई उकास्न र उद्योगी व्यवसायीको समस्या समाधान गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

























