काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता समस्या समाधान गर्न अध्यादेश ल्याए पनि देउवा सरकारले रोकेको बताउनुभएको छ । शनिबार वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई एमाले प्रवेश गराउँदै उहाँले नागरिकता विधेयक फेरि आफूहरुले नै अघि बढाउने दाबी गर्नुभयो ।
‘नागरिकताका समस्या हामीले संसदबाट हुन नसकेपछि संसद नचलेका बेला अध्यादेश ल्याएर पनि नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्नुपर्छ भनेर हामीले कानून बनायौँ तर अहिलेको गठबन्धनले त्यसलाई कायम रहन दिएन । फेरि हामी त्यसलाई अघि बढाउनेछौँ’ उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले नेकपा एमाले मुद्दा उठाएर मुद्रा कमाउने पार्टी नभई जनताका दुःख र समस्यालाई हटाउने पार्टी भएको बताउनुभयो ।
‘नेकपा एमाले भनेको देश बनाउने पार्टी हो । जनताका समस्या समाधान गर्ने पार्टी हो । जनताका दुःख कष्टहरुलाई सम्बोधन गर्ने र तिनीहरुलाई हटाउने पार्टी हो । यो कुनै मुद्दा उठाएर मुद्दा देखाएर मुद्दाका नाममा मुद्रा कमाउने पार्टी होइन’ उहाँले जिकिर गर्नुभयो ।
अध्यक्ष ओलीले आफ्नो सरकारका पालामा मधेशमा विकास निर्माणको काम अघि बढाएको दाबी गर्नुभयो । ‘हामीले तराईको विकासका लागि हुलाकी राजमार्ग, उत्तर दक्षिण राजमार्गहरुलाई चौडा गर्ने काम गरेका छौं’ उनले भने, ‘हामीले महानगर, नगर र शहरहरुलाई चक्रपथद्वारा विकास गर्ने, शहरी विकास आयोजना हरेक सदमुकामहरु आयोजनाहरु राख्ने, स्मार्ट सिटीहरुको अवधारणाअनुसार स्मार्ट सिटी अघि बढाउने कामहरु गरेका थियौं ।’ उहाँले बताउनुभयो ।