काठमाडौं । प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले २९ फागुन दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
आइतबारको बैठक सुरु हुनासाथ एमाले सांसदले नाराबाजी गरेका थिए । एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले महाअभियोग सिफारिस समितिमा रहने सदस्यको नाम बाचन गरेका थिए ।
सो बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि अध्ययन गर्न ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ ।
बैठकले एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनता समाजवादीका सांसदलाई समेटेर महाअभियोग सिफारिस समिति गठन गरेको हो ।
समितिमा एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्ण भक्त पोखरेल, कांग्रेसबाट मिनबहादुर विक, रामबहादुर विष्ट, माओवादी केन्द्रबाट यसोदा सुवेदी, रेखा शर्मा, एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोसपाबाट एकवाल मियाँ र जसपाबाट प्रमोद साह छन् ।