काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) मा एमसीसीका कारण यतिबेला भाँडभैलो उत्पन्न भएको छ । एमसीसी पक्षधर नेताहरुले एमसीसी पार्टी महाधिवेशनको निर्णय अनुसार नै संसदबाट पारित भएको दाबी गरेका छन् । पार्टी एकता र गठबन्धनको रक्षा गर्नको लागि पनि एमसीसी पारित गर्नु व्यवहारिक भएको उनीहरुको तर्क रहेको छ ।
शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीहरुसँग बोल्दै नेताहरुले एमसीसी पार्टीको आठौँ महाधिवेशनले निर्देशन दिए बमोजिम नै संसदबाट पारित भएको बताएको दाबी गरेका छन् । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य वामदेव क्षेत्रीले व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी पास गर्नु उचित भएको भन्दै एमसीसीको बचाउ गरेका छन् ।
उनले नेपालीहरुले अमेरिकालाई साम्राज्यवाद र भारतलाई बिस्तारवादी देख्ने कोण बदलेर अघि बढ्नुुपर्ने बताए । केन्द्रिय सदस्य क्षेत्रीले पदाधिकारीको बारेमा पार्टीमा ठूलो झमेला नरहेको पनि स्पष्ट पारे ।
त्यस्तै पार्टी केन्द्रिय सदस्य नारायण दाहालले महाधिवेशनमा एमसीसी पास नै गर्नुहुँदैन नभनेको स्पष्ट पारे ।
उनले संशोधनपछि एमसीसी पास गर्नसक्ने कुरा महाधिवेशनले निर्णय गरेको र सोही अनुसार नै एमसीसी पास भएको दाबी गरे । केन्द्रिय सदस्य दाहालले शुरुमा आएको एमसीसीको ठोस र मूर्त रुप अहिलेको व्याख्यात्मक घोषणाले संशोधन गरेको बताए ।
उनले व्याख्यात्मक घोषणाबाट पास गरिएको एमसीसीलाई अमेरिकाले स्वीकारे मानो खोज्दा पाथी फेला पर्ने टिप्पणी गरे । पदाधिकारीको विषयमा भने जतिसक्दो चाँडो टुंगो लगाउन आवश्यक रहेको उनको भनाइ छ ।
त्यस्तै केन्द्रिय सदस्य कुमार पौडेलले व्याख्यात्मक घोषणासहित सदनबाट पास भएको एमसीसी पार्टीको मूल्य र मान्यता बमोजिम रहेको बताए । उनले पार्टी एकता र गठबन्धनको रक्षा गर्नको लागि पनि एमसीसी पारित गर्नु व्यवहारिक भएको उल्लेख गरे । केन्द्रिय सदस्य पौडेलले व्याख्यात्मक घोषणासहित पास भएको एमसीसीले देशलाई अध्यारोमा जानबाट रोकेको बताए ।
त्यस्तै अर्का केन्द्रिय सदस्य लेखनाथ दाहालले १२ बुँदे व्याख्यात्मक घोषणा परिमार्जनकै अर्को रुप भएको बताए । उनले व्याख्यात्मक घोषणासहितको पासले केही समस्या समाधान गरेको भन्दै राष्ट्रहित विपरितका मुद्दाहरु संशोधन गरेर नै व्याख्यात्मक घोषणा पास गरिएको बताए ।
सोही बैठकमा चार नेताले एमसीसीबारे लिखित असहमति राखेका छन् ।
माओवादी प्रमुख सचेतक देव गुरुङ, प्रवक्ता कृष्णबहादुर महरा र नेताहरू गिरिराजमणि पोखरेल तथा लिलामणि पोखरेलले एमसीसी राष्ट्रघाती भएको भन्दै लिखित असहमति पेस गरेका हुन् ।
पार्टीको निर्णय मान्ने तर, आफ्नो मत पनि सुरक्षित रहोस् भनेर लिखित असहमति राखेको उनीहरुको भनाइ छ ।
व्याख्यात्मक घोषणा गलतरुपमा पारित गरिएको नेताहरुको भनाइ छ ।
‘हामी पार्टीको निर्णय मान्छौं । तर, मत सुरक्षित रहोस् भनेर लिखित रुपमा असहमति दर्ज गराएका छौं’, बैठकपछि नेता गुरुङले भने, ‘एमसीसी रिजेक्ट हुनु पर्ने हो । यो राष्ट्रघाती सम्झौता नै हो । तर, व्याख्यात्मक घोषणा भन्दै गलत रुपमा पारित गरियो ।’
उनले व्याख्यात्मक घोषणाले नेकपा माओवादी केन्द्रले भन्दै आएको जसरी संशोधन नगर्ने र यसको कुनै कानुनी अर्थ नहुने तर्क गरे ।
बैठकमा माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच चर्काचर्की नै भएको छ ।
अध्यक्ष प्रचण्डले एमसीसीको बचाउ गरेका थिए भने नारायणकाजीले एमसीसीले नेपालको हित नगर्ने भन्दै राष्ट्रघाती एमसीसी पास गरेको भन्दै यसलाई खारेज गर्न पार्टीले भूमिका निर्वाह गर्नुपर्नेमा जोडदार माग गरे ।