काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने बताएका छन् । बुधबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
उनले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिनुपर्ने बताए । उनले भने- ‘स्थानीय निकायको निर्वाचन अलि ठूलो संख्यामा हुने र हाम्रो स्थानीय तहको आफ्नै विशिष्ट परिवेश र परिस्थिति पनि छ । त्यसले गर्दा यो केन्द्रीय नेतृत्वले नै सम्पूर्ण कुरा बाँडफाँड गर्ने भन्ने त्यो अव्यावहारिक हुन्छ । र, विधानतः पनि त्यो सम्भव हुँदैन ।
प्रवक्ता महतले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सहमतिमा लिएर संसद सञ्चालन गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने पनि बताए । उनले सभामुख अग्निप्रसाद सापकोटा र माधव नेपालसहितका १४ जना सांसदको कारबाहीको विषय अदालतमा विचाराधीन रहेकाले त्यसलाई छाडेर एमालेले संसद सञ्चालन गर्न सहयोग गर्नुपर्ने बताए ।
चालु अधिवेशन अन्त्य गरेर आगामी बजेट अधिवेशनमा विपक्षी दलको सक्रिय सहभागिता आवश्यक भएकाले पनि एमालेलाई सहमतिमा ल्याएर संसद सञ्चालन गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने उनले बताए ।