महोत्तरी । नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनले एमसीसी प्रस्ताव पास गराएपछि माओवादी केन्द्र महोत्तरीमा तीव्र असन्तुष्टि देखिएको छ ।
एमसीसी पास गर्ने बहानामा ‘व्याख्यात्मक बिश्लेषण’ लाई अगाडि सारी अनुमोदन गर्नु राष्ट्र हितविपरीत भएको भन्दै माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले पार्टी परित्याग गर्नेदेखि विद्रोहसम्मको तयारी गरेका छन् ।
माओवादी केन्द्र मधेश प्रदेश कमिटी सदस्य राजन ढुंगानाले फेसवुकमा माओवादी नेतृत्व अमेरिकी साम्राज्यवादतर्फ घुँडा टेकेको आरोप लगाएका छन् ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाको एजेण्डा बोकेर १० बर्षसम्म जनयुद्ध लडेको पार्टी नै एमसीसीको पक्षमा घुँडा टेक्नु स्वीकार्य नहुने र बिद्रोह गर्ने चेतावनी दिएका छन् ।
यसैगरी, जिल्लाका कतिपय नेताकार्यकर्ताले माओवादी केन्द्रको औचित्य सकिएको भन्दै पार्टी नै त्याग्ने घोषणासमेत गरे ।
बर्दिबासस्थित स्थानीय नेता सौरभ खड्का र निरज अधिकारीले पनि पार्टी नेतृत्वले गठबन्धनको सुरक्षा गर्ने बहानामा नेताकार्याकर्ताको भावनामा ठेस पुर्याएको बताए ।
बर्दिबासमा त एमसीसीका विरुद्ध चरणबद्ध आन्दोलन समेत भएको थियो । गठबन्धनले व्याख्यात्मक विश्लेषणको नाममा एमसीसी अनुमोदन गर्ने दिशातर्फ उन्मुख भएपछि हिजोदेखि नै नगर सुनसान बनेको छ ।
पार्टी नेतृत्वको यो निर्णयले जिल्लामा पार्टीभित्रको सुदृढिकरण क्षीण भएको कतिपयको भनाइ छ । यसअघि प्रचण्डले एमसीसी कुनै पनि हालतमा पास गर्न नसकिने अडान लिँदै आएका थिए ।
पाँच दिनअगाडि एमसीसीको पक्षमा पार्टी उभिए पार्टी नै परित्याग गर्ने सार्वजनिक गरेका स्थानीय नेता निरज अधिकारीले फेसबुकमार्फत् अबदेखि माओवादी केन्द्रमा नरहेको सार्वजनिक गरेका छन् ।
सामाजिक संजालमा माओवादीको कदमलाई लिएर निकै टिप्पणी भएका छन् । विशेषगरी बिपक्षी दलका नेता तथा कार्यकर्ताले आन्दोलनको बिषयलाई लिएर खिल्ली उडाएका छन् ।
नेपाली काङ्ग्रेसका कार्यकर्ता तथा व्यवसायी भवनाथ खतिवडा आफ्नो फेसबुकमा लेख्छन्, ‘पार्टी छोड्छु भनेर गर्जिनेहरु के गर्लान । मैले भनेको थिएँ एमसीसी पास गर्न देउवाले केही गर्नुपर्दैन बालकोट जान्छु भने मात्र पुग्छ ।’
जिल्लास्थित कतिपय जिम्मेवार नेताहरू आज आह्वान गरेको नेपाल बन्दको समर्थनमा उत्रिएका छन् । माओवादी केन्द्र महोत्तरीका संयोजक तुलसी ढुङ्गानाले पार्टीको औचित्य सकिएको बताएका छन् । तर, उनले पार्टी छाड्ने बिषयमा भने केही बताएनन् ।
यता मधेश प्रदेश कमिटीका सदस्य राजन ढुङ्गानाले भने अब पार्टीमा बस्न नसकिने प्रष्ट पारेका छन् । माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले पनि एमसीसी अनुमोदनको बिषयलाई लिएर आपत्ति जनाएका छन् ।
२० फागुनमा हुने केन्द्रीय समितिको बैठकपछि निर्णयमा पुग्ने उनको भनाइ छ ।