काठमाडौं । प्रनिनिधिसभाबाट एमसीसी सम्झौता पारित भएको छ ।
सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनि मतका साथ पास भएको घोषणा गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।
आइतबारको प्रतिनिधिसभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै एमसीसी पारित भएको हो ।
नेपालले गरेको १२ बुँदे घोषणा
व्याख्यात्मक घोषणामा मिलेनियन च्यालेन्ज कम्प्याक्टको पक्ष भएको कारण नेपाल, अमेरिकाको हिन्द प्रशान्त रणाीति लगायतका कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा आवद्ध भएको मानिने छैन भन्ने घोषणा गरिएको छ ।
नेपालको संविधान, कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य सम्झौताहरु भन्दामाथि रहेको, एमसीसी अनुदानको प्रयोग बाहेक अन्य कुनै पनि उद्देश्यका लागि अमेरिकी कानून वा नीतिहरूको पालना गर्न नेपाल बाध्य नहुने, एमसीए–नेपालको सबै क्रियाकलाप तथा कोषको लेखा परीक्षण महालेखा परीक्षकबाट गर्ने र वौद्धिक सम्पत्तिहरू नेपालको स्वामित्व रहने घोषणा गरिएको छ ।
व्याख्यात्मक घोषणामा एमसीसीका क्रियाकलाप/कार्यक्रम सञ्चालन गर्दा नेपालको कानून वा नीति उल्लङ्घन भएकोमा ३० दिनको पूर्व लिखित पूर्वसूचना दिई कम्प्याक्ट अन्त्य गर्न पाउने अधिकार रहने समेत उल्लेख छ ।
एमसीसी पारित भएसँगै प्रनिनिधिसभाको अर्को बैठक फागुन १८ गते बस्ने भएको छ ।
आइतबार दुईवटा बैठक बसेको थियो । दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र त्यसमाथिको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो । सभामुख सापकोटाले आगामी बैठक १८ गते दिउँसो १ बजेका लागि बोलाएका हुन् ।
























