काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको दुई दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।
शुक्रबार राति बालकोटस्थित ओली निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सबैको सहमतिमा प्रतिनिधिसभाबाट अनुमोदन गरौं भन्ने प्रस्ताव राखेका थिए ।
बैठकमा सहभागी भएर निस्कने क्रममा सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा सुचारु गर्न प्रधानमन्त्रीले अस्ति र हिजो पनि भेट गरेको र त्यसैको निरन्तरताको बैठक भएको बताए ।
‘प्रधानमन्त्रीले एमसीसीलाई सबैको सहमतिमा प्रतिनिधिसभाबाट अनुमोदन गरौं भन्ने प्रस्ताव गर्नुभएको छ । प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले पुरानै कुरा गर्नुभएको छ’ बैठकबारे जानकारी दिँदै उनले भने, ‘हामीलाई संसदमा प्रवेश गर्ने वातावरण बनाउनुस् । त्यसपछि हामी निर्णय गर्छौं भनेर ओलीले भन्नुभयो । ‘
ओलीले लोकतन्त्रका लागि संघर्ष गरेका दुई पार्टी लोकतान्त्रिक मूल्यमान्यताका लागि हामी एक ठाउँमा उभिनुपर्ने बताएको कार्कीले बताए । ‘धेरै संघर्ष गरेर लोकतन्त्रको स्थापना गरेका छौं । लोकतन्त्रको यात्रामा हामी सहयात्री हौं, त्यसैले लोकतान्त्रिक मूल्यमान्यताका लागि हामी एक ठाउँमा उभिनुपर्छ ।’
ओलीले संसद प्रवेशको बाटो आफूहरुलाई नखुलेको भन्दै खुलाउन आग्रह गरेका थिए । कार्कीले संसद प्रवेशको बाटो खोल्नका लागि सबै दलले आ-आफ्ना अडानभन्दा राष्ट्रिय हितका निम्ति दुई पाइला अगाडि हिँडन् जरुरी रहेको बताए ।