काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने समयमा सत्तागठबन्धनका दलहरु कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझै सत्ता गठबन्धनमा रहेका पार्टीहरुले आज संसद सचिवालयमा प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरे । यसले निर्वाचनलाई असर गर्ने विश्लेषण राजनीतिक वृत्तमा सुरु भइसकेको छ । सत्ताबाहिरका दलहरुले खबरदारी गर्नुपर्ने आवश्यकता देखिन्छ । अन्यथा सत्ताधारी दलहरुले निर्वाचन नगराउने दुष्प्रयास गर्न बेर लाग्दैन । सरकारमा रहेका कांग्रेसबाहेका अरु दल माओवादी, समाजवादी तथा अरु साना दलहरुलाई निर्वाचन चाहिएको छैन । त्यसैले प्रधानन्यायाधीशमाथि महाभियोग लगाएर सबैको ध्यान चुनावबाट हटाउन रचिएको यो नयाँ खेल हुन सक्ने सम्भावनातर्फ समेत सचेत हुन जरुरी छ ।
उता महाभियोग प्रस्ताव दर्तासँगै प्रधानन्याधीस राणा निलम्बनमा परेका छन् । प्रकारान्तरले भनौँ करिव ४ वर्षअघि तत्कालिन प्रधानन्यायाधीस सुशीला कार्कीविरुद्ध पनि यसैगरी महाभियोग प्रस्ताव दर्ता भएको थियो ।
चार वर्षको अन्तरालमा दर्ता भएका यी दुई महाभियोग प्रस्तावबीच एउटा कुरा समान छ । त्यो हो– यी दुवै महाभियोग प्रस्ताव स्थानीय तहको निर्वाचन मिति घोषणा भएपछि दर्ता भएका हुन् ।
यसअघि २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि सरकारले २०७३ साल फागुन ९ गते निर्वाचन मिति घोषणा गरेको थियो । फागुन ९ गते सरकारले २०७४ वैशाख ३१ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको थियो । पछि उक्त निर्णय संशोधन गर्दै तीन चरणामा स्थानीय तहको निर्वाचन गरिएको थियो ।
त्यतिबेला सरकारको नेतृत्व गरेका थिए नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले । प्रचण्डको सरकारलाई साथ दिएको थियो नेपाली कांग्रेसले ।
निर्वाचनको मिति नजिकिँदै गर्दा २०७४ वैशाख १७ गते तत्कालिन प्रधानन्यायायधी सुशीला कार्कीविरुद्ध कांग्रेस र माओवादीले महाभियोग दर्ता गरेका थिए ।
महाभियोगको प्रस्तावक कांग्रेस नेता मीन विश्वकर्मा बनेका थिए भने समर्थक माओवादीका तत्कालिन सचेतक टेकबहादुर बस्नेत ।
कार्कीको कार्यकाल करिव एक महिना बाँकी हुँदा उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको थियो । प्रस्तावमा तत्कालिन २५१ सांसदको हस्ताक्षर रहेको थियो ।
संयोग हो वा योजनाबद्ध स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि आइतबार प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको छ ।
सरकारले गत माघ २४ गते स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकैचरणमा गर्ने घोषणा गरेको थियो ।
आइतबार दर्ता गरिएको महाभियोग पत्रमा कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी)का ९८ जना सांसदहरुको हस्ताक्षर रहेको छ ।
अहिले सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन् भने सरकारमा माओवादी, एकीकृति समाजवादी र जनता समाजवादी पार्टी, नेपाल सहभागी छन् । दुवै महाभियोगमा कांग्रेस र माओवादी सहभागी भएका छन् ।