काठमाडौं । अघिल्लो वर्षको पुस महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७८/८९ को पुसमा मुद्रास्फीति बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विवरणअनुसार यस वर्षको पुसमा मुद्रास्फीति ५.६५ प्रतिशत रहेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही महिनामा यस्तो मुद्रास्फीति ३.५६ प्रतिशत रहेको थियो । पुस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९२ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.२३ प्रतिशत रहेको छ ।
२०७७ पुसको तुलनामा २०७८ पुसमा घ्यू तथा तेल, यातायात, मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २१.२२ प्रतिशत, १४.०७ प्रतिशत, ११.३७ प्रतिशत, १०.४८ प्रतिशत र ९.२२ प्रतिशत रहेको छ ।
पुस महिनामा काठमाडौं उपत्यकामा ५.२८ प्रतिशत, तराईमा ६.१५ प्रतिशत, पहाडमा ५.३४ प्रतिशत र हिमालमा ५.२२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ पुसमा यी क्षेत्रहरूमा क्रमशः ३.५५ प्रतिशत, २.८७ प्रतिशत, ४.७२ प्रतिशत र ३.३८ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
२०७८ पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१८ प्रतिशत रहेको थियो । गत पुस महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ९.१० प्रतिशत, ७.६७ प्रतिशत र ७.१४ प्रतिशत रहेको छ ।
पुस महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १७.५१ प्रतिशत रहेको छ । २०७८ पुसमा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.७७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १.७२ प्रतिशतले बढेको थियो ।
यसैगरी चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा नेपाल भित्रने रेमिट्यान्स ५.५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स घटेको हो ।
नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो ६ महिनाको विवरणअनुसार २०७८ साउनदेखि पुससम्म नेपालमा ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ११.१ प्रतिशतले बढेको थियो ।
नेपाल भित्रने रेमिट्यान्स अमेरिकी डलरमा ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोडमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स ६.७ प्रतिशतले बढेको थियो ।
पछिल्लो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १ लाख ६७ हजार ५१३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८९.० प्रतिशतले घटेको थियो ।