काठमाडौँ । नेकपा माओवादी केन्द्र र यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले इतिहासकै कठिन मोडमा उभिएका छन् । माओवादी पार्टी र यसका अध्यक्ष प्रचण्डलाई आगामी चुनावमा कहाँ पु-याउने हो त्यो त भविष्यले नै देखाउला तर अहिलेसम्म आइपुग्दा अध्यक्ष प्रचण्डको हालत राजनीतिक साख जोगाउनै मुस्किल देखिएको छ ।
राष्ट्रिय राजनीति उनकै पेरीफेरीमा घुमिरहे पनि स्वयं प्रचण्डको स्वार्थी प्रवृत्ति भने उदाङ्गो बन्दै गएको छ । कुनै समय नेपाली राजनीतीमा नाम जस्तै प्रचण्ड रापताप र ओज भएका उनी संसदीय राजनीतिमा आएसंगै गिर्ने क्रम जारी छ ।
२०६३ साल असार २ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकार सम्मेलन आयोजना हुँदै गर्दा सबैको ध्यान त्यतै मोडिएको थियो । दशबर्षे जनयुद्ध अन्त्य भएर देश शान्तिको बाटोमा अघि बढ्दै गर्दा जनयुद्धको कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड सार्वजनिक हुँदै थिए । नयाँ नेपाल निर्माणको सपना देखाएर भएको जनयुद्धको नेतृत्व सम्हालेका उनी सार्वजनिक हुँदा उनको ओज र रापताप पनि निकै चुलिएको थियो ।
सार्वजनिक जीवनमा आएसँगै २०६४ साल चैतमा भएको संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो नम्बरमा पुर्याएर प्रचण्ड २०६५ सालमा गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बन्न सक्षम भए । तर, राजनीतिमा आएको उतारचढावका र उनको भित्री स्वार्थप्रेरित चरित्रका कारण नौ महिनामै सरकारबाट बाहिरिनु प-यो । यहीबाटै उनको राजनीतिमा ओरालो यात्रा सुरु भयो ।
कही आफूले चाहिने भन्दा बढीलाई पनि लडाकुमा दर्ता गराएको कुरा त कतै हतियार आफैसंग भएको जस्ता कुराले उनलाई विवादित बनायो ।
सेनापति प्रकरण, पशुपतिमा भट्ट परिवर्तनको प्रकरण जस्ता कुराले उनी विवादित बनिरहे । उनका दोधारे चरित्रहरु पनि देखिन थाले । यसैको परिणाम पहिलो संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट निर्वाचित उनी दोस्रो संविधानसभाको चुनावमा सिरहाबाट मात्र निर्वाचित बने भने काठमाडौंमा उहाँले धुलो चाटे अर्थात् पराजित बने । संगै उनको दल माओवादी तेस्रो दलमा खुम्चियो ।
२०७३ साउनमा उनी दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भए । एमालेको फेरो समातेर २०७४ को चुनावमा उनी चितवनवाट निर्वाचित भएका हुन् । तर एकता गरेर एक भएको नेकपामा पनि धेरै दिन चल्न नसकेपछि पुन माओवादीकै अध्यक्षको हैसियतमा पुगेका उनको दोहोरो चरित्र एमसीसीलाई पठाएको पत्रको प्रकरणका कारण पुन उदाङ्गो भयो ।
संसदीय राजनीतीमा आएको दुई दशक नपुग्दै उनको द्वैध चरित्रका कारण उनी निरन्तर ओरालो लागिरहेका छन् । नेपाली नागरिकले पनि उनको वास्तविकता बल्ल बुझ्न थालेका छन् । आफ्ना सहकर्मीले पनि विस्तारैविस्तारै साथ छाडेपछि एक्लै परेका उनी अहिले इतिहासमै कठिन मोडमा छन् । जहाँ माओवादी र उनले स्थापित गराएको संघियता र धर्मनिरपेक्षतामाथि नै बढी प्रश्न उठिरहेको छ ।
प्रचण्डकै कारण देशमा राजनीतिक स्थिरता कायम हुन सकेन । यतिका वर्षपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्न चुकेका प्रचण्डबाट नेपाली जनताले जनहितको कार्यको आशा गर्नु व्यर्थ छ । ओरालो लागेको प्रचण्डको आगामी राजनीतिक यात्रा सम्झनलायक हुने छैन ।