काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीमा आफ्नो मागको सुनवाई नभएपछि पार्टी परित्याग गर्नु परेको बताएका छन् ।
गृह नगर हेटौँडा पुगेर थापाले एक विज्ञप्ति जारी गरी आफनो मागको सम्वोधन नहुने भएपछि पार्टी परित्यागको अप्रिय निर्णय लिनु परेको जनाएका हुन् । विज्ञप्तिमा उनले राप्रपाका कुनै नेतासँग वैरभाव नभएको उल्लेख गरेका छन् ।
‘अत्यन्त भारी मन तथा पिडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीवाट अलग हुने निर्णय गरेको छु,’ थापाले उल्लेख गरेका छन्, ‘पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक बिचलन तथा गलत प्रवृतिलाई सुधार गरेर मेरा बाँकी क्रियाशिल राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमा नै रमाउने उत्कृष्ट चाहना भए तापनि आफनो कुराको सुनुवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’
सोमवार काठमाडौंमा आफू निकट राप्रपाका पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको अलग भेला गरेका अध्यक्ष थापाले पार्टी परित्यागको घोषणा भने गृह जिल्ला मकवानपुर पुगेर गरेका हुन् ।
‘राप्रपामा रहदाँ पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरुवाट प्राप्त सहयोग, सद्भाव र स्नेह प्रति म सदैव आभारी रहने छु’ थापाले पुर्व उपप्रधानमन्त्रीको हैसियतमा लेखेको पत्रमा भनिएको छ, ‘पार्टीमा रहँदा बिताएका क्षणहरुप्रति म सदैव गौरब गरिरहनेछु, राप्रपाको कुनै साथीहरुसँग मेरो वैरभाव छैन, सबैको भलो होस् भन्ने कामना गर्दछु ।’
थापा गत मंसिर १५–१८ मा भएको महाधिवेसनमा अध्यक्ष राजेन्द्र लिङदेनवाट पराजित भएका थिए । पुर्व राजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर पराजित गराएको गुनासो थापाले गर्दै आएका थिए । उनले २७ मंसिरमा अध्यक्ष लिङ्देनलाई पत्र लेखेर सो बिषयमा छानबिनको माग गरेका थिए । उनले १६ माघमा स्मरण पत्र लेखेको भए पनि सुनुवाई नभएको आरोप थापाले लगाउँदै आएका थिए ।
उता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाड्ने घोषणा गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
लिङ्देनले भने, ‘उहाँले पठाउनुभएको पत्रको विषयमा पार्टीको शीर्ष तहमा छलफल भई उहाँसमेतको सल्लाह सुझावमा समाधानको उपाय खोज्ने अन्तिम प्रयास भइरहेका बेला यस प्रकारको निर्णय हुनु अनपेक्षित, उहाँको राजनीतिक जीवनको लागि दुर्भाग्यपूर्ण घटनाको रुपमा हामीले लिएका छौं ।’ लिङ्देनले थापाकै सल्लाह अनुसार पार्टीको शीर्ष तहमा यस विषयमा छलफल गर्ने तयारी भइरहेको बताए ।
‘भर्खरै संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्दसँग यस विषयमा कुराकानी गरेर आएको छु, दुई दिनपछि पदाधिकारी बैठक पनि बोलाइसकेको अवस्थामा यस प्रकारको निर्णय (कमल थापा अलग हुने घोषणा) आउनु दुर्भाग्यपूर्ण हो’ लिङ्देनले बताए ।