काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लिपुलेकको नेपाली भूमिमा भारतले सडकलगायत संरचना बनाउँदा पनि देउवा सरकार मौन बसेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डा. राजन भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै सीमालगायत थाँती रहेका विषयलाई कूटनीतिक माध्यमबाट टुङ्ग्याउने सहमतिविपरित भारतले नेपाली भूभागमा सडकलगायत संरचना निर्माण गरेकामा एमालेको ध्यानाकर्षण भएको बताउनुभएको छ । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्ने एमालेले बताएको छ ।
सडकलगायत संरचना निर्माण रोकेर वार्ताको माध्यमबाट यो विषय टुङ्गो लगाउने भन्दै एमालेले भनेको छ, ‘राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको छ ।’
साथै भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न र नेपाली भूभागमा नेपालको व्यावहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गरेको छ ।