काठमाडौँ । आज पुस २७ अर्थात् नेपाल एकीकरणका राष्ट्रनायक पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ती । पृथ्वीनारायण शाहले विभिन्न राज्यमा विभाजित नेपाललाई एउटा सिंगो मुलुक निर्माण गर्ने महान् कार्य गरेका हुन् ।
नेपाल एकीकरणका महाअभियन्ता तथा नायकका रुपमा चिनिने पृथ्वीनारायण शाहको योगदानलाई लिएर यतिबेला नेपाली राजनीतिक दलहरुबीच नै मतभेद रहेको छ । कतिपय उनको योगदानको कदर गर्नुपर्ने बताउँछन् भने, कतिपय उनको भूमिकाको अवमूल्यांकन गर्ने गर्दछन् । टुक्रा-टुक्रामा रहेको नेपालको एकीकरण हुनु आफैमा ऐतिहासिक काम हो । तर, यो महान कार्य पनि पूर्ण रुपमा विवादरहित बन्न नसक्नु हामीहरुका लागि दुर्भाग्य नै हो ।
नेपालका पछिल्ला राजनीतिक दलहरुमध्ये केहीले पृथ्वीनारायण शाहको अत्यधिक प्रशंसा गर्दै उनको यो योगदान सुरुदेखि नै नेपालको एकीकरणका लागि भएको र उनले आफ्नो राज्य गोरखाको विस्तारमा कुनै स्वार्थ नपालेको मान्छन् । कतिपयले उनको सैनिक अभियान पूर्ण रुपले गोरखा राज्यको विस्तारको लागि मात्र भएको र उनले नेपालको एकीकरण नगरी जनतामाथि अत्याचार गरेको आरोप लगाउँछन् ।
यता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता विषयक विचार गोष्ठीमा बोल्दै पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताए । मन्त्री आलेले पृथ्वीनारायण शाहले दिव्योपदेशमा व्यक्त गरेका आत्मनिर्भर अर्थतन्त्र, असंलग्न विदेश नीति, व्यापार, राज्य सञ्चालनका नीति र विचारहरु दूर दृष्टियुक्त रहेको भन्दै त्यसको महत्व र उपयोगितालाई ग्रहण गर्न अफ्ठ्यारो मान्नु नहुने बताए ।
त्यस्तै प्रा.डा त्रिरत्न मान्धरले पृथ्वीनारायण शाहका विचारहरु आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण र मार्गदर्शक रहेको बताउँछन् । २ हजार वर्ष अघि देखिनै नेपाल देश रहेको र पछि टुक्रिएपछि, पृथ्वीनारायणले एकीकरण गरेको इतिहासविद्हरुको दाबी छ ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकीकरण गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।
जे होस् नेपाल एकीकरण गर्ने महान कार्यमा पृथ्वीनारायण शाहको योगदानलाई नेपालीहरुले कहिल्यै पनि बिर्सन हुँदैन । उनै पृथ्वीनारायण शाहको अदम्य साहसका कारण आज हामी नेपाली भएर विश्वभर चिनिन पाएका छौँ । अन्यथा नेपाल राष्ट्र नरहन पनि सक्थ्यो । त्यसले हामी आज जुन धरातलमा टेकेर नेपाली भन्ने गौरव गरिरहेका छौँ त्यसको आधारस्तभ्म पृथ्वीनारायण शाह नै हुन् । यस्तो महान् योगदानलाई हामीले बिर्सिन कदापि हुँदैन । यसको तात्पर्य राजतन्त्र नै नेपालमा आवश्यक छ भन्ने बुझाइ नहोस् । कुनै पनि शासनतन्त्र आफैँमा खराब नभई त्यसका सञ्चालकहरु नै दोषी हुन्छन् । चाहे नाम जेसुकै किन नहोस् । २४० वर्षे राजतन्त्र किन नेपालबाट समाप्त भयो त भन्दा यसका सञ्चालकहरुको खराब चरित्र र जनतामाथिको थिचोमिचो नै प्रमुख कारण हो । अतः पृथ्वीनारायण शाहले तत्कालनी परिवेशमा नेपाल एकीकरण गर्ने जुन महान् कार्य सम्पन्न गरे त्यसलाई हामीले उच्च सम्मान गर्नैपर्छ । महान् कार्यको सम्मान गर्न कन्जुस्याइँ गर्न हुँदैन । नत्र जो कसैले किन महान् कार्य गर्ने भनेर प्रश्न गर्ने दिन नआओस् । अन्यथा हामीलाई इतिहासले धिक्कार्नेछ । चेतना भया ।