काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसको महाधिवेशन सकिएको एक महिना नबित्दै पार्टीभित्र तीब्र अन्तरद्वन्द्व सुरु भएको छ । सभापति शेरबहादुर देउवाले आफूइतरका विपक्षी समूहलाई पेलेरै अगाडि बढेपछि शेखर कोइराला पक्ष पनि त्यसको कडा प्रतिरोधमा उत्रिएको छ ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका नेता शेखर कोइरालाले पार्टी रुपान्तरणका लागि जुनसुकै त्याग गर्न तयार रहेको आश्वासन कार्यकर्ता माझ बाँडेका थिए । रुपान्तरण चाहेका करिब २ हजार कार्यकर्ताले उनलाई मत दिए पनि शेखरले सभापति शेरबहादुर देउवासँग हार ब्यहोर्न बाध्य बने ।
करिब ४० प्रतिशत मतसहित पराजित भएका शेखरले यसअघि पार्टीमा हुँदै आएको भागबण्डामा समेत हिस्सा नखोज्ने घोषणा गरेका थिए । तर महाधिवेशन सकिएको एक महिना भएको छैन, नेपाली काँग्रेसभित्र भागबण्डा र बाँडफाँडकै विषयमा अन्तरद्वन्द्वको आगो यसरी सल्किएको छ, को काँग्रेस हुने, को नहुने प्रतिस्पर्धा छ ।
देउवाका गतिविधिमाथि कडा विरोध गरिरहेका शेखरले देउवा नसच्चिए पार्टी दुर्घटना जाने चेतावनी दिएका छन् ।
सभापति देउवाप्रति शेखरले आक्रामक नीति लिनुका पछाडि पनि कारण छ । ३३ जना केन्द्रीय समितिमा मनोनित गर्ने अधिकार पाएका देउवाले केही दिनअघि मात्रै दुई चरणमा १३ जना सिफारिस गरे । त्यसमा इतरपक्षमा रहेर पनि चुनावी प्रतिस्पर्धामा सामेल नभएका रामचन्द्र पौडेलसहित अन्तिम समयमा आफूलाई समर्थन जनाएका प्रकाशमान सिंह र विमलेन्द्र निधिसहित अधिकांश आफु निकट नै सिफारिस गरे । शेखरको पक्षमा उभिएका एकजना पनि देउवाको मनोनितमा परेनन् । पुरानै कार्यशैली देखाएका देउवाले रुपान्तरण हुनै नचाहेको बरु गुटगत राजनीतिमा अघि बढेकाले शेखरले देउवाविरुद्ध मोर्चाबन्दी सुरु गरेका हुन् ।
आसन्न तीनै तहका चुनाव नजिक रहेका बेला काँग्रेसलाई पहिलो बन्ने अवसर छ । तर काँग्रेसभित्र एकमत नभएपछि चुनाव हारिन्छ कि भन्ने डर पनि देखिन्छ । यद्यपि शेखर पक्षले सभापति देउवालाई पार्टीको विधानले नै चाहेको व्यक्ति मनोनित गर्न पाउने सुविधा दिएका कारण देउवा मात्तिएको टिप्पणी गरेको छ ।
देउवाको यस्तै चरित्र कायम रहने हो भने आगामी चुनावमा देउवा आफ्नो पक्षलाई मात्रै समेटेर अघि बढ्ने संकेत कोइराला पक्षले पाइसकेको छ । जसको पहिलो रुप देउवाले गरेको मनोनयनमा देखिएपछि सुरुवाती चरणबाटै शक्ति बाँडफाँडमा शेखर पक्ष सचेत हुनु जरुरी छ । अन्यथा देउवाले शेखर पक्षलाई पार्टीमा ढिम्किन दिने छैनन् । त्यसैले शेखर पक्ष बेलैमा सचेत हुन आवश्यक देखिन्छ ।

























