काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आफूइतर पक्षलाई पेलेर जाने रणनीतिविरुद्ध शेखर कोइराला समूह कडारुपमा प्रस्तुत हुने भएको छ । कोइराला समूहले सभापति शेरबहादुर देउवाले पेलेरै अगाडि बढ्न खोजेपछि त्यसविरुद्ध सशक्त प्रतिरोध नै गर्ने तयारी बुधबार बसेको सो पक्षको भेलाले गरेको छ ।
चौधौं महाधिवेशनबाट अनेक जालझेल गरी दोस्रो पटक पनि सभापतिमा निर्वाचित भएका देउवाका केन्द्रीय सदस्यमा मनोनित लगायतका निर्णयले उनी पेलेरै अगाडि बढ्ने नीतिमा पुगेको स्पष्ट देखिन्छ । यसबाट कोइराला समूह रुष्ट बनेको छ । त्यसलाई परास्त गर्न सो समूहले प्रतिरोधको रणनीति अख्तियार गर्ने भएको हो ।
देउवा पेलेर अगाडि बढ्ने संकेत पाएपछि नेता कोइरालाले बुधबार महाधिवेशनमा आफ्नो समूहबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूको बैठक नै राखेर देउवाको शैलीप्रति आक्रोश व्यक्त गरेका गरेका छन् ।
बुधबारको बैठकमा सहभागी अधिकांश नेताहरुले भनाइ राख्ने क्रममा देउवाले आफूहरुलाई पेलेर अगाडि बढ्न खोजेको निष्कर्ष निकाले ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार अधिकांश नेताहरुले नेतृत्व आफूहरुको अपमान गरेर अगाडि बढ्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।
बागमती प्रदेश सरकार पुनर्गठनदेखि बाँकी १६ जिल्लाहरुको अधिवेशन सार्ने विषयसम्म आइपुग्दा देउवाले पेलेर, अपमान गरेर अगाडि बढ्न खोजेको अधिकांशको भनाइ बैठकमा देखियो ।
देउवाले बागमती सरकार पुनर्गठन, १३ केन्द्रीय सदस्य मनोनयन, राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार तय र १६ जिल्ला अधिवेशन सार्नेबारे आफूइतर समूहसँग छलफल नै गरेन । यसबाट कोइराला समूह असन्तुष्ट छ।
कोइराला समूहले बोलाएको सो भेलाबाट संस्थापनसँग ‘भाग खोज्ने र पेलेर गए प्रतिवाद गर्ने’ रणनीति बनाएको छ ।
देउवाले केन्द्रीय सदस्यमा नियुक्ति गरेका व्यक्तिहरुलाई कुन मापदण्ड अपनाएर नियुक्त गरियो भन्ने सवाल कोइराला पक्षले उठाएको छ । पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुनु जरुरी छ। नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भन्ने प्रश्न सो समूहले उठाएको छ ।
सो समूहले निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्तालाई नियोजित किसिमले पाखा लगाउने कामविरुद्ध डटेर आवाज उठाउने जनाएको छ ।
कोइराला समूहबाट उपसभापतिमा उम्मेदवारी दिएका नेता डा. चन्द्र भण्डारीले सभापति देउवाले केन्द्रीय कार्यसमितिमा गरेको मनोनयनप्रति आपत्ति जनाएका छन् । सभापति देउवाले कसैलाई नियुक्ति गर्दा मनोमानी गर्न नपाउने तर्क उनले गरेका छन् ।
कोइराला समूहबाट केन्द्रीय सदस्य बनेका अर्जुननरसिंह केसीले पनि १४ औँ महाधिवेशनपछि सभापति देउवाले दुई चरणमा १३ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनीत गर्दा आफ्नो समूहसँग छलफल नगरेको भन्दै आक्रोश व्यक्त गरे।
देउवाले दुई चरणमा केन्द्रीय कार्यसमिति सदस्य मनोनीत गर्दा कुनै सल्लाह र छलफल नगरेकोप्रति उनले रोश प्रकट गरे । सभापतिले त्यस्तो नियुक्ति गर्दा शक्ति सन्तुलन र न्यायोचित वितरण प्रणाली अपनाउनुपर्ने उनको प्रष्ट धारणा छ ।
कोइराला समूहले आफ्नो समूहको अस्तित्व स्वीकार नगरिए सभापति देउवासामु समर्पण नगर्ने निष्कर्ष निकालेको छ।
पार्टीभित्र एकता, सहमति र सहअस्तित्वलाई स्वीकारेर अघि बढ्नुपर्छ अन्यथा पार्टी दुर्घटित हुने चेतावनी कोइराला समूले दिएको छ । सहमति र सहअस्तित्व नस्वीकार्ने हो भने देउवासँग सहकार्य र संघर्ष दुवै हुने कोइराला समूहका नेताहरुले दिएका छन् ।
सभापति देउवाको ‘लाइक’ र ‘डिस्लाइक’ बाट व्यक्तिको छनोट गर्ने प्रवृत्तिको विरोध मात्र होइन पार्टी दुर्घटनामा पर्नेसम्मको चेतावनी नेताहरुले दिएका थिए । विधि र विधानबाहिर गएर गरिने सबै कामहरु बन्द गर्नुपर्नेमा कोइराला एकढिक्का भएको छ ।
बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशनमा ४० प्रतिशत ल्याएको शक्तिलाई बेवास्ता गरे सह्य नहुनेसम्मको चेतावनी दिएका छन् ।
सभापति देउवा विधान र नीतिविपरीत चलेको निचोड बुधबारको बैठकले निकाल्दै आगामी दिनमा पनि यस्तै गरी देउवा अघि बढ्ने हो भने कोइराला समूहले देउवाको भण्डाफोर अभियान नै गर्ने चेतावनी दिएको छ ।