काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि गुटबन्दी अन्त्य हुने विश्वास कांग्रेसीजनले गरेका थिए । तर त्यो विश्वास धेरै दिन टिक्न पाएन । १२ वर्ष ढुंग्रोमा राखे पनि कुकुरको पुच्छर बांगाको बांगै भनेझै सभापति शेरबहादुर देउवामा गुटगत चरित्रमा रौँ बराबर पनि परिवर्तन आउन सकेन । उनी गुटगत राजनीतिबाट माथि उठ्न नै चाहँदैनन् ।
१४ औँ महाधिवेशनमा संस्थापन समूहसँग प्रतिस्पर्धा गरेको डा. शेखर कोइरालाको समूहको विश्वास थियो, महाधिवेशनसँगै गुटहरु सकिनेछन् । तर कोइराला समूहको विश्वास बालुवामा पानीझैँ भयो ।
महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भए । संस्थापन पक्षइतरका रामचन्द्र पौडेल, प्रकाशमान, विमलेन्द्र निधिलगायतका अवसरवादी चरित्रका नेताका कारण शेखर पराजित भए ।
महाधिवेशनपछि पनि गुटलाई संस्थागत गर्नु गलत भएको भन्दै त्यसको कडा प्रतिवादमा उत्रिने चेतावनी कोइराला समूहले दिएको छ । त्यसैको सिलसिलामा शेखर कोइरालाले पनि पछिल्लो समय गुटगत छलफललाई तीव्रता दिएका छन् ।
यतिबेला सभापति देउवा एकलौटी रुपमा अगाडि बढेको र आफूहरुलाई शक्तिका रुपमा स्वीकार नगरेकोमा शेखर समूहका नेताहरु आक्रोशित बनेका छन् ।
केन्द्रीय कार्यसमितिको पहिलो बैठकअघि नै देउवाले आफ्नो असली चरित्रलाई उदांगो बनाए । त्यसको दृष्टान्त सभापति देउवाले नेताहरुको वरियताक्रममा देखाए । सभापतिमा दोस्रो मत पाएका कोइरालालाई २० औं वरियतामा राखेर कोइरालाको अपमान गरेपछि शेखरनिकट नेताहरु देउवाको कार्यशैलीप्रति रुष्ट छन् ।
त्यतिमात्र हैन देउवा कुनै पनि पार्टीगत निर्णयमा कोइरालालाई सहभागी गराउन नै चाहँदैनन । उनले वागमती प्रदेशमा मन्त्रीहरु छनौट गर्दा रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई भाग नै दिए तर शेखरसँग परामर्शसम्म गर्न आवश्यक ठानेनन् ।
सभापति देउवाले दुई पटक गरेर १३ जना केन्द्रीय सदस्य मनोनित गरे । त्यसमा पनि शेखरलाई कुनै मतलब नै गरिएन । कांग्रेस विधानले सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकारको दुरुपयोग उनले गरे । उनले रामचन्द्र पौडेलबाहेक सबै आफूलाई मत दिनेलाई मात्र मनोनित गरे । पार्टीमा आफूलाई मत नदिनेको पनि सभापति हुने र सबैलाई समेटेर लैजाने देउवाको महाधिवेशनताकाको प्रतिवद्धता विपरीत उनले फेरि गुटलाई प्राथमिकता दिए ।
देउवाले आइतबार सत्तारुढ गठबन्धनका नेताहरुसँग छलफल गरेर राष्ट्रियसभा सदस्यको सिट बाँडफाँट गरे । रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग सोबारे परामर्श गरेका देउवाले शेखरलाई मतलब नै गरेनन् ।
महाधिवेशनमै सहभागी नभएका रामचन्द्र पौडेलसँग परामर्श गर्ने तर शेखरलाई वाइपास गरेर जाने देउवाको बलमिच्चाइँ प्रवृत्ति देखिन्छ । देउवाको भित्री मनशाय पौडेललाई शेखर कोइरालाकै समूहको नेताका रुपमा व्यवहार गर्ने अनि आफूइतरको समूहलाई कमजोर बनाउने देखिन्छ ।
महाधिवेशनबाट शेखर कोइराला समूह रामचन्द्रको खेमामा छैन । नेता शेखर कोइरालालाई समेटेर लैजाने उदारता सभापति देउवाले देखाएनन् भने उनको सभापतित्वकाल सुखद हुने देखिँदैन । महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी नभएका पौडेलले अप्रत्यक्ष रुपमा देउवालाई नै सहयोग गरेका हुन् ।
शेखरले आफूले गुटलाई निरन्तरता दिन खोजेको नभई पार्टीभित्र न्याय खोजेको धारणा राखेका छन् । गुटका नाममा भागबण्डा होइन पार्टीमा सबैलाई न्याय चाहिन्छ भन्ने पक्षमा आफू रहेको कोइरालाको भनाइ छ । सभापतिले जुनियरलाई मनोनित गर्दा सिनियरलाई छुटाएकोमा शेखर समूह असन्तुष्ट देखिन्छ ।
सभापति देउवा महाधिवेशनमा आफूसँग प्रतिस्पर्धा गरेका कोइरालासँग सहकार्य गरेर अगाडि बढ्ने पक्षमा छैनन् ।
सभापति देउवा एक्लै अगाडि बढेको कोइराला समूहको निष्कर्ष छ । त्यसैले आगामी रणनीति बनाउन छलफलमा जुटेको यो समूहले आज आफ्नो समूहबाट महाधिवेशनमा उम्मेदवार बनेका पदाधिकारी, केन्द्रीय सदस्यका साथै प्रदेश सभापतिहरुसँग छलफल गर्ने बताइएको छ ।