काठमाडौं । नेपाली सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेशागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी रुपमा अगाडी बढाउने हेतुले नेपाली सेनाले विभिन्न सञ्चार माध्यमका १९ जना रक्षा संवाददाताहरुलाई अभिमुखिकरण तालिम दिएको छ ।
सुर्खेतस्थित श्री पश्चिम कमाण्ड हे.क्वा.मा आजबाट शुरु भएको तालिम ६ दिनसम्म सञ्चालन हुने बताइएको छ । एक कार्यक्रमकाबीच कमाण्ड सेनापति उपरथी प्रेम शाहीद्वारा प्रथम प्रवचन गरेपछि तालिमको शुभारम्भ भएको बताइएको छ ।
नेपाली सेनाको साङ्गठनिक स्वरुप, भूमिका, जिम्मेवारी तथा नेपाली सेना सम्बन्धी अन्य विविध विषयमा जानकारी दिने एवं समाचार सम्प्रेषण गर्दा स्पष्टता होस् भन्ने उद्देश्यका साथ संचालन भएको तालिममा श्री पश्चिम कमाण्ड हे.क्वा.का रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।
उक्त अभिमूखिकरण कार्यक्रममा रक्षा संवाददाताहरुलाई नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रम सञ्चालन गर्नुका साथै दैलेख जिल्लास्थित गढी, भेरी डाईभर्सन तथा बर्दिया राष्ट्रिय निकुञ्जको फिल्ड भिजिट समेत गराउने योजना रहेको बताइएको छ ।